कोभिड-१९

सुदूरपश्चिम र गण्डकीमा यस्तो छ संक्रमित र मृतकको संख्या

इकागज |
भदौ ३१, २०७८ बिहीबार २१:२३ बजे

कैलाली – बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार चार जनाको नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

तीमध्ये २३ जनामा पीसीआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सो संख्यामा संक्रमित देखिएका हुन् । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा सात र  जिल्ला अस्पताल बैतडीमा दुई जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच, कैलालीका दुई र डडेल्धुराका एक जनामा कोभिड संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जनाले कोभिड जितेका छन् भने सोही अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ४० वर्षीया महिला रहेकी छन् । यसअघि बुधबार सुदूरपश्चिमका ५२ जनामा संक्रमण पुष्टि हुँदा १९ जना डिस्चार्ज भएका थिए ।

गण्डकीमा थप १ सय ३७ जना संक्रमित
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस अवधिमा ९ सय ६३ जनाको कोभिड परीक्षण गरिएकोमा सबैभन्दा बढी कास्कीमा १ सय ३, नवलपरासी (पूर्व) र स्याङ्जामा नौ÷नौ, तनहुँमा सात, लमजुङमा छ, पर्वतमा दुई र बाग्लुङमा एक जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण चार जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

शर्माका अनुसार मृत्यु हुनेमा स्याङ्जास्थित पुतली बजार नगरपालिका–८ का ४९ वर्षीय र चापाकोट नगरपालिका–३ का ८१ वर्षीय पुरुष छन् । यस्तै बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–५ का ५३ वर्षीय पुरुष र कास्कीको रूपा गाउँपालिका–४ का ९० वर्षीय महिलाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । यस अवधिमा प्रदेशमा २ सय ५२ जना कोभिड संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय २१ जना होम आइसोलेसनमा छन् । 


Author

थप समाचार
x