कोभिड-१९

भारतले कोभिड खोप निर्यात पुनः सुरु गर्ने

इकागज |
असोज ६, २०७८ बुधबार ६:५५ बजे

सांकेतिक तस्बिर

भारत- भारतले कोभिड–१९ विरूद्धको खोप निर्यातलाई अक्टोबरदेखि पुनः सुरू गर्ने निर्णय गरेको छ । यस वर्षको सुरुदेखि भारतमा कोरोनाभाइरसको रोग बढ्दै गएपछि भारतले खोप निर्यात रोकेको थियो । 

स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मन्सुख माण्डभियाले सोमबार चौथो त्रैमासिकको सुरू अर्थात् अक्टोबरदेखि भारत सरकारले ‘भ्याक्सिन मैत्री’ पुनः आरम्भ गर्नेछ । यो पहल विश्वभरका देशहरूलाई कोभिड खोप प्रदान गर्ने र कोभाक्स अन्तर्गत आफ्नो जिम्मेवारी पनि पूरा गर्ने पहल भएको उनले बताए । 


‘भ्याक्सिन मैत्री’ अन्तर्गत हामी विश्वलाई मद्दत गर्नेछौं र चौथो त्रैमासदेखि कोभाक्समा योगदान गर्नेछौं,” माण्डभियाले संवाददातासँग भने । अर्को महिना सरकारले खोप उत्पादकहरूबाट ३० करोडभन्दा बढी मात्रा पाउने आश्वासन मिलेको छ भने यो खोप तत्काल विश्व बजारमा जानेछ । 

स्वास्थ्य मन्त्रीले यस वर्षको चौथो त्रैमासको लक्ष्य लगभग एक अर्ब खोप उत्पादन गर्ने रहेको र यसको पहिलो प्राथमिकतामा सम्पूर्ण भारतवासी हुनेछन् । 

भारतमा पछिल्लो २४ घण्टामा ९६ लाख ४६ हजार ७७८ खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबारसम्म भारतमा ८१ करोड ८५ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।  

तथ्याङ्कअनुसार एक करोड तीन लाख ६९ हजार ३८६ स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपको पहिलो मात्रा दिइएको छ भने ८७ लाख ५० हजार १०७ जनाले दुवै मात्रा खोप लगाएका छन् । खोप लगाउने अग्रपङ्तीमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा कर्मचारी शिक्षकलगायत फ्रन्टलाइनमा काम गर्ने एक करोड ८३ लाख ४६ हजार १६ ले पहिलो र एक करोड ४५ लाख ६६ हजार ५९३ जनाले खोपका दुबै मात्रा लगाइसकेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मुख्य वैज्ञानिक सुमया स्वामीनाथनले मंगलबार कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने भारतको निर्णयको स्वागत गरेका छन् । विश्वव्यापी खोप पहुँचमा समान अवसरका लागि भारतको यो निर्णय महत्वपूर्ण हुने उनले बताए । 

स्वामीनाथनले ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा भने, 'कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने निर्णयको विश्व स्वास्थ्य सङ्गठन स्वागत गर्दछ । विश्वव्यापी खोप अभियानमा समानताका लागि अझै लामो यात्रा रहेको र भारतको यो निर्णय महत्वपूर्ण हुनेछ ।' (एएनएआई)


Author

थप समाचार
x