कोभिड-१९

कञ्चनपुरमा काेभिड खाेप अभियान

इकागज |
मंसिर ६, २०७८ सोमबार १४:२९ बजे

कञ्चनपुर - कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि १८ वर्षमाथि उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । यही मङ्सिर ११ देखि १५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको हो । 

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा उपलब्ध भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णयबमोजिम खोप अभियान सञ्चालन हुन गइरहेको उनले बताए । 
 
“भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइएको छ”, उनले भने, “स्वास्थ्य कार्यालय र स्थानीय तहमा समेत गरी कोभिडसिल्ड, अस्ट्राजेनिका खोपको १४ हजार मात्रा मौज्दात छ ।” 


दुवै खोपसमेत १८ वर्ष माथिका समूहलाई पहिलो मात्रा दिन सात हजार मात्रा वितरण गर्ने र बाँकी सात हजार मात्रा चार हप्तापछि दोस्रोका लागि मौज्दातका रुपमा राखिने उनले बताए । 

पहिलो मात्रा लगाइ दोस्रो मात्रा लगाउन छुट भएकालाई स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप लगाइने छ । खोप अभियानअन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउन स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए । 


Author

थप समाचार
x