कोभिड-१९

अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला सञ्चालनमा

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १३:४१ बजे

फाइल फाेटाे

सिन्धुपाल्चोक - चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ । प्लान्टले प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचाार्यले बताइन् । 

उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इर्मर्जेन्सी र अन्य वार्डमा रहेका शय्यामा पुर्‍याइएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिनका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । 'हामीले चौतारा अस्पतालबाट बिरामीहरुलाई सम्पूर्ण सेवा सुविधा दिने गरी काम गरिरहेका छौँ', अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठले भने, 'अस्पतालको भवन नहुँदासमेत नगरपालिकाले दिएको फिल्ड ट्रेनिङ सेन्टरलाई आइसोलेसन वार्ड र पिसिआर ल्याब स्थापना गरी बिरामीको उपचार गरेका थियौँ ।' चीन सरकारको सहयोगमा तत्काल चौतारा अस्पतालको भवन निर्माण गरिने उनले बताए । 


त्यस्तै, जिल्ला अस्पताल चौताराबाट कोभिड–१९ को पिसिआर परीक्षण सुरु भएको छ । वागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोकमै कोरोना भाइरस परीक्षण सुरु भएको हो । चौतारा अस्पतालमा पिसिआर मेसिन जडान गरी पिसिआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ । बिहीबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित तीनजनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमूना परीक्षण गरेका थिए ।
 
प्रयोगशालामा १० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिए । कोभिड– १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि पाँचजना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको चौतारा अस्पतालले जनाएको छ । यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब धुलिखेल वा काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । जिल्लामै पिसिआर मेसिन भएपछि अब पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । रासस


Author

थप समाचार
x