कोभिड-१९

प्रदेश १

ओमिक्रोनको त्रास : होल्डिङ सेन्टर निर्माणमा ढिलाइ

बाबुराम भण्डारी |
पुस २७, २०७८ मगलवार १८:१६ बजे

विराटनगर – पुस २१ मा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्ना क्याविनेटका मन्त्रीहरुसमेतलाई राखेर कोभिड–१९ को ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकोले तयारीमा जुट्न सरोकारवालाहरुलाई आग्रह गरे । 

केही दिन अघिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संक्रमण जोखिम न्यूनीकरणमा केन्द्रित हुन स्वास्थ्य क्षेत्रका उच्च अधिकारी र निकायहरुलाई निर्देशन दिए । तर खुल्ला सीमाका कारण भारतबाट भित्रिने सम्भावित संक्रमितहरुको पहिचान गरी उनीहरुलाई राख्न प्रदेश १ को मेचीनगर–१४ दुवागढीस्थित हडिया खोलाको नदी उकास र विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको खाली जग्गासहित देशभरका सात स्थानमा दुई अर्बको लागतमा निर्माणाधिन रहेका होल्डिङ सेन्टर छिटो सम्पन्न गर्न भने दुवै तहका सरकारको तदारुकता देखिएको छैन ।


दुवागढी र रानीमा निर्माणाधीन होल्डिङ सेन्टर समयमा निर्माण सम्पन्न नहुँदा कोभिडको तीव्र संक्रमण रोक्ने प्रयास असफल हुने अवस्था बन्दै गएको छ । पूर्वी नेपालको प्रमुख नाका रानीबाट दैनिक एक हजार बढी मानिस ओहरदोहर गर्दछन् । तर कोभिड संक्रमणको तेस्रो लहर अन्तरगत ओमिक्रोन भेरियन्टको संक्रमण फैलिनबाट सीमा क्षेत्रमा सरकारले सावधानी समेत अपनाउन सकेको छैन । अर्कोतिर मुल नाकामा हेल्पडेस्क राखिए पनि खुल्ला सिमानाले मानिसहरुको आउजाउ रोक्न सक्ने र उनीहरुको परीक्षण गर्न सक्ने अवस्था भने बनेको छैन ।

जोगवनीमा भारतीय रेल आएपछि हेल्प डेक्समा कार्यरत कर्मचारीहरुले प्रहरीको सहयोगमा एन्टिजेन परीक्षण हुने गरे पनि सबैको परीक्षण गर्न पनि कठिनाइ रहेको हेल्प डेक्समा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् । हेल्प डेस्कको तथ्यांकमा पुुस महिना चलिरहँदा अहिलेसम्म एन्टिजेन परीक्षणबाट मात्रै २५ जनामा कोभिडको संक्रमण पोजेटिभ देखिएको पाइएको छ । जसमध्ये १२ जना त भारतीय नै रहेका छन् ।

भारतीय अखबार हिन्दुस्थान टाइम्सले विहार राज्यका विभिन्न तीन सयवटा खण्डमा दैनिक डेढ गुणाका दरले कोभिड संक्रमण बढिरहेको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेश १ को मोरङमा मात्रै सीमावर्ती विहारको अररिया जिल्लासँग जोडिएको खुल्ला सीमा क्षेत्र ६३ दशमलव २ किलोमिटर छ । अररिया जिल्लासँग प्रदेश १ को मोरङ, सुनसरी र झापा जोडिएको सीमा क्षेत्र कुल १०८ किलोमिटर रहेको छ ।

भेटिएका संक्रमितलाई अहिले पनि कहाँ राख्ने भन्ने चिन्ता स्थानीय तहहरुलाई छ । दोस्रो लहर ताका नै स्थानीय तहहरुलाई होम आइसोलेसनमा बसेका संक्रमितहरुको विवरण संकलन गर्न कठिनाइ भएको थियो । अहिले जोगबनी हुँदै नेपाल प्रवेश गर्नेहरुलाई एन्टिजेन परीक्षण गराउने र कोभिड पुष्टि भए उनीहरुलाई घरमा होम आइसोलेसनका लागि पठाउने गरिएको छ । भारतीय नागरिक भए उनीहरुलाई भने नाकाबाट भारततिरै फर्काइँदै आएको जनाइएको छ । 

दुवागडी र रानीमा निर्माणाधीन होल्डिङ सेन्टरको कुल क्षमता एक/एक हजार रहेको छ । सीमा क्षेत्रबाट प्रवेश गरेका संक्रमितहरुलाई नाकामै रोकेर परीक्षण गर्ने र पोजेटिभ पुष्टि भए उनीहरुलाई तत्कालै होल्डिङ सेन्टरमा पठाएर संक्रमण फैलिने जोखिम न्यूनीकरण गर्नुपर्नेमा होल्डिङ सेन्टरहरुको निर्माण नै सकिएको छैन । अपेक्षाकृत रुपमा ढिलो गरी होल्डिङ सेन्टरको निर्माण हु“दा सम्भावित संक्रमितहरुको पहिचान र संक्रमणको रोकथाममा चुनौती थपिएको हो ।

रानीस्थित विराटनगर जुटमिलको खाली जग्गामा होल्डिङ सेन्टर निर्माणाधीन रहेको छ । गत असारबाट निर्माण सुरु गर्ने सम्झौता भए पनि कात्तिक महिनासम्म परेको लगातारको वर्षाले मंसिरदेखि मात्रै होल्डिङ सेन्टरको निर्माण सुरु भएको हो । प्रदेश १ मा झापाको हडिया र मोरङको रानीमा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणको व्यवस्थापन जिम्मा लिएर ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनलाई ठेक्का लगाएर निर्माणको काम अघि बढाएको छ । तर संक्रमणको जोखिम वृद्धि भइसकेका कारण होल्डिङ सेन्टरको औचित्यमाथि नै प्रश्न उठ्ने देखिएको छ ।

रानीमा निर्माणाधिन होल्डिङ सेन्टरमा खटिएका हनुमान कन्स्ट्रक्सनका प्रतिनिधि बच्चुराम दाहालले सरकारले बजेट निकासा नगरेका कारण निर्माणमा ढिलाइ भइरहेको दाबी गरे । उनले करिब २५ करोडको लागतमा ठेक्का सम्झौता भए पनि सरकारले हालसम्म ९ करोडमात्रै भुक्तानी दिएका कारण काम गर्न कठिनाइ भइरहेको बताए ।

रानीमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन रहेको छ । मूल क्वारेन्टाइन ब्लक, किचेन डाइनिङ र शौचालय गरी ५९ वटा ब्लकहरु बनिरहेका छन् । जसमध्ये किचेन डाइनिङ १५ वटा, चर्पी २२ वटा, सीमा नाकाबाट प्रवेश गर्ने नागरिकहरुलाई राख्ने क्वारेन्टाइन ब्लक २० वटा र प्रशासनिक ब्लक दुईवटा रहेका छन् ।

‘निर्माण सक्ने लक्ष्य पुस मसान्तसम्मको थियो, तर बजेट अभावमा काम प्रभावित भइरहेको छ’ दाहालले भने, ‘बाढी र डुबानले कात्तिकसम्मै काम गर्न पाइएन, भवनहरुको निर्माण अन्तिम चरणमा पुग्दैछ, तर बाटो लगायतका बाहिरी डिजाइन अझै टुंगो लागेको छैन ।’

उनले सरकारले छिटो काम सक्नमात्रै निर्देशन दिने गरेको तर कार्यप्रगति अनुसारको बजेट निकासा नभएको गुनासो गरे । होल्डिङ सेन्टरमा विद्युत र पानीको व्यवस्थापन अझै हुन नसकेको दाहालले बताए । 

‘सबैबाट पहल भइरहेको भनिएको छ, हामीले काम पनि नरोकिकन अघि बढाइरहेका छौं’ दाहालले भने, ‘मंसिरबाट हामीले काम गरेको हो, १२ वटा जति क्वारेन्टाइन भवन र पा“चवटा शौचालय निर्माण सम्पन्न भइसकेका छन् ।’ उनले बजेटको सुनिश्चित गरेको खण्डमा एक महिनामै होल्डिङ सेन्टर तयार गरेर दिन सक्ने गरी जनशक्ति परिचालन गरिएको बताए । निर्माणस्थलमा दैनिक दुई सय कामदारले काम गरिरहेको उनले जानकारी दिए ।

झापाको दुवागढी पनि एक हजार क्षमताकै होल्डिङ सेन्टर निर्माणाधीन छ । त्यहाँ २२ वटा ब्लकमध्ये २० क्वारेन्टाइन, एक सेन्ट्रल किचेनसहित १२ किचेन डाइनिङ रहेका छन् । हनुमान कन्सट्रक्सन ललितपुरका प्रतिनिधि सबिन भट्टराईले पुस मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण अघि बढेको जानकारी दिए । अहिले ब्लकहरुमा प्यानल लगाउने, झ्याल ढोका जडान गर्ने र सिलिङ राख्ने काम करिब सम्पन्न भइसकेको उनले बताए । 

दुवागढीमा रानीको तुलनामा निर्माण कार्य निकैअघि बढे पनि सम्पन्न भने हुन सकेको छैन । अर्कोतिर निर्माणको अन्तिम चरण रहेपनि होल्डिङ सेन्टर सञ्चालनको मोडालिटी सरकारले पठाउन नसकेको जनाइएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले होल्डिङ सेन्टर निर्माणको अन्तिम चरणमा रहेको बताए । उनले केही दिनमै होल्डिङ सेन्टर संचालनका लागि आवश्यक छलफल गरिने जानकारी दिए ।

‘संचालनको अन्तिम चरणमा रहेको छ, संचालनको मोडालिटी कस्तो हुने भन्ने कुरा छलफल भइसकेको छैन’ उनले भने, ‘माथिबाट मोडालिटीबारे जानकारी आउला, हामी पनि बसेर सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारीमा छौं ।’

मोरङ प्रशासनले पनि होल्डिङ सेन्टरलाई तत्काल सञ्चालन गर्ने गरी निर्माण कार्यलाई गति दिन आग्रह गरेको जनाइएको छ । कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिइसकेका छन् । यो अवधिमा नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण विगतभन्दा उच्च हुने उनीहरुको आंकलन छ । नेपाल–भारतको खुला सीमा नाकाबाट हुने अनियन्त्रित आवतजावतले बढाउने जोखिम नियन्त्रण गर्नकै लागि होल्डिङ सेन्टरहरुको निर्माण छिटो सम्पन्न गर्न दबाब भने बढ्दै गएको छ ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x