कोभिड-१९

'सबैलाई खोप पुर्‍याउँछौ, लकडाउन गर्दैनौं'

अतिन आचार्य | दुर्गा आचार्य |
माघ ४, २०७८ मगलवार १२:४३ बजे

काठमाडौँ- कोभिड संक्रमणको तेस्रो लहर तीव्र रुपमा बढिरहेको छ । संक्रमितहरू अस्पतालमा भर्ना हुन थालेका छन् । मृतक संख्या कम भएपनि संक्रमण दर तीव्र छ । यतिखेर केन्द्र देखि प्रदेश सरकार कोभिड नियन्त्रण गर्न विभिन्न रणनीति बनाउँदै आएका छन् । प्रदेशस्तरीय अस्पतालमा आवश्यक संरचनाहरू विकास गरी बागमती प्रदेश सरकारले ओमिक्रोन नियन्त्रणका लागि के तयारी छ ? बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामासँग गरिएको इकागजकर्मी दुर्गा आचार्यअतिन आचार्यले गरेको कुराकानी

कोभिड तेस्रो लहर नियन्त्रणको सरकारको तयारी के छ ?


महामारीलई नियन्त्रण गर्न सरकारले आफ्नो मातहतका सबै जिल्ला अस्पताल तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । भोलि कोभिड केस पोजेटिभ देखिएमा आवश्यकता पर्न सक्ने आइसीयू भेन्टिलेटर र बच्चाहरूका लागि एनआइसीयू जस्ता महत्त्वपूर्ण सामग्रीहरू हस्पिटलमा तयारी अवस्थामा छ । सबै तयारी गर्नुभन्दा पहिला यसको नियन्त्रणको सबैभन्दा उतम उपाय भनेकै 'भ्याक्सिनेसन' हो । खोप अभियानलाई तीव्रता दिएको छ । बागमती प्रदेशको रेकर्ड अनुसार संघीय सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म सबै नागरिकलाई दुई डोज खोप दिने र बागमती प्रदेशभत्रिका अहिले ७४ प्रतिशतले दाेस्राे मात्राकाे खोप लगाइसकेका छन् । बालबालिकाहरू १३ देखि १७ वर्षकालाई चितवन, काभ्रे र सिन्धुली बाहेक पहिलो चरणको खोप उपलब्ध गराइसकेका छौं । सात वटा जिल्लामा मोडर्ना र ६ वटा जिल्लामा फाइजर खोप पुर्‍याइसकेका छौं । तीनवटा जिल्लामा पनि चाँडै सुरु गर्नेछौ । कोभिडको पहिलो र दोस्रो भेरियन्टलाई मध्यनजर गरी सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण ल्याव देखि लिएर सबै तयारी अवस्थामा छ । अक्सिजनहरू सबै पर्याप्त मात्रामा छ । अक्सिजन प्लान्टले मात्रै भ्याएन भने अक्सिजन कन्सन्ट्रेटर राखेका छौँ ।

सरकारले अतिआवश्यक स्वास्थ्यसामग्री कतिको मौज्दात गरेर राखेको छ ?

बागमतीका १३ जिल्लामध्ये अहिले ९ वटा जिल्लामा अक्सिजन प्लान्ट छ । उत्पादन भएका जिल्लाले छिमेकी जिल्लालाई सप्लाइ गर्छ । जस्तै, रसुवामा अक्सिजन प्लान्ट स्थापना गर्दैछौं । तर, त्यसलाई चाहिने अक्सिजन त्रिशुली अस्पतालले सप्लाई गर्छ ।  अक्सिजन पर्याप्‍त मात्रामा उत्पादन भइरहेको छ । काठमाडौँमा अक्सिजन प्लान्ट धेरै छन् । नभ्याएको खण्डमा अक्सिजन कन्सन्ट्रेटर प्रयोगसमेत हुन्छ । ओमिक्रोन पोजेटिभ देखिएकामा अक्सिजन लेभल घटेको छैन् । सायद दुई डोज खोप लगाएकाले पनि हुन सक्छ । हिजो सुरुमा कोभिड हुँदा एक किसिमको आतंक थियो । मानिसहरूले कोभिड के हो बुझ्न थाले र साधारण लक्षण भएका ८० प्रतिशत मानिसहरु अहिले घरमै होम आइसोलेसनमा छन् । 

सरकारले गरेको तयारी अनुसार अहिले त्रास हुनुपर्दैन होइन त ?

हिजोको जस्तो पोजेटिभ देखिने बितिकै आतंकित भएर हस्पिटल भर्ना हुने अवस्था छैन् । पहिलेको अवस्थालाई मध्यनजर गर्दै हामी तयारी अवस्थामा छौ । ओमिक्रोनले बालबालिकाहरूमा असर गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर हस्पिटलहरुमा एनआइसीयू र बेडहरु तयारी अवस्थामा छन् । संघीय सरकारले आव्हान गरेअनुसार सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई इमान्दारीपूर्वक पालना गर्ने भिडभाड हुने ठाउँमा नजाने र त्यसलाई पालना गर्न प्रदेश सरकारले पनि सबैलाई अनुरोध गरेको छ ।

होम आइसोलेसनमा बसेकाहरूको प्रदेश सरकारले कसरी उपचार गरिरहेको छ ?

स्थानीय तहसँग प्रदेश सरकार निरन्तर सम्पर्क छ । अस्पतालमा रहेका भन्दा पनि धेरै संक्रमतिहरू घरमा छन् । प्रत्येक दिन स्वास्थ्य कार्यलयका कर्मचारीले संक्रमितलाई सम्पर्क गर्छन् । गाह्रो भएमा तुरुन्त अस्पताल लैजाने गरी तयारी अवस्थामा एम्बुलेन्ससमेत राखिएको छ ।

प्रदेशमा सबैले बुस्टर खोप कहिलेसम्म पाउँछन् ?

प्रदेश सरकारकै माग अनुसार अहिले बुस्टर डोज लगाउन थालेका छौ । फ्रन्ट लाइनरहरुले दोस्रो डोज लगाएको एक वर्ष भइसकेको र शरिरमा एन्टीबडीको कमी भएकाले बुस्टरडोज लगाउन भनिरहेका थिए । २-३ हप्‍तादेखि प्रदेश सरकारले संघीय सरकारलाई अनुरोध गरेका थियौं सोही अनुसार बुस्टर डोज प्रदान  गर्न थालिएको हो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकार र त्यसपछि दीर्घ रोगी तथा वृद्धवृद्धालाई खोप लगाउने सरकारको तयारी छ । प्रदेशको सबै जिल्लामा पनि परिपत्र भइसकेको छ । सर्वसाधारणलाई पनि बुस्टर डोज लगाउँछौँ । 

परीक्षणदर पर्याप्‍त भएको छैन । अहिले पनि बागमती प्रदेशमा बढी संक्रमित छन् । किन परीक्षण दर बढाउन सकिएको छैन ?

सरकारले परीक्षणलाई प्राथमिकतमा राखी हरेक स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । एन्टीजेन्ट परीक्षणलाई बढाएर भए पनि परीक्षण दर बढाइएको छ । कन्ट्रयाक ट्रेसिङलाई तीव्र रुपमा बढाइएको छ । संक्रमण पुष्‍टि हुनासाथ उसको सम्पर्कमा आएकालाई परीक्षण गरिएको छ । ओमिक्रोन तीव्र रुपमा फैलने भएकाले सरकारले तीव्र परीक्षण गर्ने कार्यलाई अगाडि बढाइरहेको छ ।

सिन्धुली, चितवन र काभ्रेका बालबालिकाले कहिलेसम्ममा पाउँछन् ?

ती जिल्लाहरूमा फाइजर खोप लगाउने परेको थियो । प्राविधिक कारण ती जिल्लाका बालबालिकामा खोप लगाउन बाँकी छ । उनीहरुले पनि छिट्टै खोप लगाउँछन् । जनस्वास्थ्य कार्यलयहरुमा खोप पुर्‍याइसकेका छौं ।

लकडाउन हुन्छ कि हुँदैन ?

भ्याक्सिन शत प्रतिशत पुर्‍याएमा जनतालाई निषेधाज्ञामा राखिदैन । संक्रमण बढेर अस्पतालमा संक्रमित भरिएमा केही सोच्न सकिन्छ तर अहिले लकडाउनको बारेमा सोच्न सकिएको छैन ।

खोप पनि लगाउने काम भइरहेको छ । त्यसो भए विद्यालयहरु किन बन्द गरिएको?

ओमिक्रोन तीव्र रुपमा फैलिरहेको छ । एक विद्यार्थीले १० जनालाई सार्न सक्छन् । विद्यालय बन्द गर्नु नै उतम हुन्छ । अनलाईनबाट पढाइ भइराख्नुपर्छ भन्ने हो । विद्यालय बन्द भएपनि खोप कार्यक्रम भने जारी रहन्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x