क्रिकेट

ब्याटिङले नै नेपाललाई चारै खेल जिताउनेछः कप्तान सन्दीप

इकागज |
जेठ १४, २०७९ शनिवार १६:३६ बजे

काठमाडौँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक सिरिजमा नेपाललाई चारवटै खेल ब्याटिङले नै जिताउने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले विश्वास व्यक्त गरेका छन् । 

अमेरिका, नेपाल र ओमानबीच हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम अमेरिका जानु अघि आयोजित विदाई कार्यक्रममा कप्तान लामिछानले सिरिजको चारवटै खेल नेपालले ब्याटिङ कै भरमा जित्ने बताए । 


उनले नेपाली टिमसँग उत्कृष्ट फास्ट बलर, स्पिनर, टप अर्डर तथा मिडल अर्डरका उत्कृष्ट ब्याट्सम्यान रहेको समेत जनाए । 

अमेरिका भ्रमणका क्रममा नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९, दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ । 

ती खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको कप्तान लामिछानले बताए । 

'हामीले १२ वटा मात्र खेल खेलेका छौ त्यसैले सबैको नजरमा हामीले धेरै अंक प्राप्त गर्न नसकेको देखिन्छ । तर अझै २४ खेल खेल्न बाँकी छ । अमेरिकामा सकेसम्म राम्रो प्रदर्शन गर्ने र सकेसम्म बढी भन्दा बढी अंक ल्याउने लक्ष्य रहेको छ,' लामिछानेले थपे । उनले लिगको अन्त्यमा नेपाल शीर्ष ३ स्थानमा रहने विश्वास समेत व्यक्त गरे । 

यता मुख्य प्रशिक्षक पुवुदु दासानायकेले नेपालले एकदिवसीयको मान्यता नगुमाउने दावी गरे । उनले नेपाली टिममा युवा खेलाडीहरु भएपनि क्षमतावान रहेको बताए । 

'मलाई विश्वास छ कि नेपालले आफ्नो एकदिवसीय मान्यता गुमाउने छैन् । अहिले हामी अंक तालिकाको छैठौं स्थानमा भएपनि यस सिरिजपछि हामी चौथो वा पाँचौं स्थानमा हुनेछौ ।' 

यसैबीच नेपाली टिमको विदाई गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अमेरिका भ्रमण नेपाली टिमका लागि महत्वपूर्ण अवसर भएको तथा आफूले नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 

नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले नेपालका लागि ऐतिहासिक सिरिज भएको तथा यसले नेपालको एकदिवसीय तथा विश्वकप छनोटको आधार तय गर्ने बताए । 

नेपाली टोली शनिबार नै अमेरिका प्रस्थान गर्दैछ । 

लिग अन्तर्गत नेपालले १२ खेल मध्ये ६ खेलमा जित तथा ६ खेलमा पराजय भोग्दै १२ अंक जोडेको छ । यता ३२ खेल खेलेको ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । स्कटल्यान्डले १६ खेलबाट २४, युएईले १८ खेलबाट २२, नामिबियाले १४ खेलबाट १४ तथा पपुवा न्यु गिनीले २० खेलबाट २ अंक जोडेका छन् ।  

नेपाली टिमः-
कप्तान सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो, सागर ढकाल
 


Author

थप समाचार
x