क्रिकेट

के नेपाली क्रिकेटका लागि युएई तगारो बन्दै गएको हो ?

इकागज |
असार १०, २०७९ शुक्रबार १५:२९ बजे

काठमाडौँ – पछिल्लो समय नेपालको युथदेखि सिनियर क्रिकेट टिमसम्मका लागि युनाइटेड अरब इमिरेट्स (युएई) तगारोको रुपमा उभिएको देखिन्छ । २०२२ आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर्समा युएईसँग पराजित हुँदादेखि एसीसी महिला टी-ट्वान्टी च्याम्पिनयसीपमा वर्षाले खेल प्रभावित हुँदासम्म युएई नै नेपालको चुनौतीको रुपमा उभिएको छ । 

गत फेब्रुअरीमा ओमानमा भएको २०२२ आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर्स अन्तर्गतको महत्वपूर्ण खेलमा युएईसँग पराजित भएपछि नेपाल अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्नबाट चुक्यो । 


समूह चरणमा तीनवटै खेल जितेको नेपाल भने सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुनपुग्यो जसका कारण दोस्रोपटक टी-ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भयो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पनि युएईले अहिलेसम्म खेलेका दुवै खेलमा नेपाललाई पराजित गरेको छ । 

यता जुन ३ देखि ९ सम्म मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत पनि युएई नेपालका लागि एउटा ठूलै तगारो बन्यो । ६ टिमको सहभागिता रहेको छनोट अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले लज्जास्पद हार बेहोर्‍यो । 

उक्त खेलमा युएईले नेपाललाई ८ रनमै अलआउट पार्‍यो तथा ९ रनको लक्ष्य युएईले ७ बलमै पूरा गर्‍यो । त्यसपछि थाइल्यान्डसँग पराजित भएपछि भने आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक आयोजना हुने आईसीसी महिला यू-१९ विश्वकपमा भने नेपालले स्थान बनाउन सकेन ।

अर्कोतर्फ मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पिनयसीपको सेमिफाइनल खेलमा नेपालले युएईबीचको खेल परेको थियो । तर वर्षाका कारण खेल पूरा हुन नसकेपछि नेपाललाई पछि पार्दै युएई प्रतियोगिताको फाइनलमा पुग्नुका साथै महिला टी–ट्वान्टी एसिया कपमा समेत स्थान बनाउन सफल भयो । जबकि नेपाल भने एसिया कपमा समेत छनोट हुन सकेन् । 

समूह ‘बी’ मा नेपाल उपविजेता तथा समूह ‘ए’ मा युएई विजेता भएका कारण दुई टोलीबीचको सेमिफाइनल खेल वर्षाका कारण पूरा नभएपछि युएई अघि बढ्यो । युएईविरुद्ध अस्मिना कर्माचार्यले ५ विकेट लिदै नेपाललाई बलियो अवस्थामा पुर्‍याएपनि वर्षाका कारण खेल हुन सकेन ।
 


Author

थप समाचार
x