क्रिकेट

नेपालले ओन्टारियोलाई पराजित गर्दा रोहित र दिपेन्द्रको विष्फोटक ब्याटिङ

इकागज |
असार २०, २०७९ सोमबार १०:२४ बजे

काठमाडौँ – क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले ओन्टारियो क्लबविरुद्धको टी-ट्वान्टी अभ्यास खेल पनि जितेको छ । आइतबार राति भएको खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले पराजित गरेको हो ।

नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो । ओन्टारियोको लागि वरुण सहदेवले सर्वाधिक ५० तथा नेरेश बुढाएरले ४१ रन जोडे ।


नेपालका लागि सोमपाल कामीले सर्वाधिक २ विकेट हात पार्दा करण केसी, किशोर महतो र आदिल आलमले समान १-१ विकेट हात लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९ रन जोड्यो । नेपालका लागि रोहित कुमार पौडेलले ३१ बलमा अविजित रहदै सर्वाधिक ७१ रनको योगदान गरे । उनले समान ५ चौका र ५ छक्का हिर्काए ।

त्यसैगरी, २७ बल खेल्दा ६ चौका र २ छक्का प्रहार गरेका दिपेन्द्र सिंह ऐरीले ५४ रनको योगदान गरे । ओन्टारियोका लागि हसन मिर्जा, रेयमन्ड बाइनोइ, वरुण सहदेव र किनन टिन्टोले समान १-१ विकेट हात पारे ।

नेपालले अब क्यानाडाविरुद्ध जुलाई ५ र जुलाई ६ मा एकदिवसीय सिरिज खेल्नेछ ।


Author

थप समाचार
x