क्रिकेट

कपिल भन्छन्: आईसीसीले टेष्ट र एकदिवसीय क्रिकेट बचाउन कदम चाल्नुपर्छ

इकागज |
साउन ३१, २०७९ मंगलबार १२:३६ बजे

काठमाडौँ- भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवले इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) लाई टेष्ट तथा एकदिवसीय क्रिकेट जोगाउनका लागि कदम चाल्नुपर्ने बताएका छन् ।

घरेलु टी-ट्वान्टी फ्रेन्चाइज्ड लिगको संख्या बढ्दै गएपछि देवले टेष्ट र एकदिवसीय क्रिकेट जोगाउनका लागि आईसीसीले थप कदम चाल्नुपर्ने बताएको रोयटर्सले जनाएको छ । 


टी-ट्वान्टी लिगहरुका कारण अन्तर्राष्ट्रिय क्रिकेट खेल तालिका नै परिवर्तन भएको छ । केही समय अघि नै युनाइटेड अरब इमिरेट्स तथा दक्षिण अफ्रिकाले नयाँ टी-ट्वान्टी लिग आयोजना गर्ने तालिका सार्वजनिक गरिसकेका छन् ।

आईसीसीले इन्डियन प्रिमियर लिग आयोजनका लागि अर्को वर्ष समय दिएको छ भने इंग्ल्यान्ड र अष्ट्रेलियाले पनि घरेलु लिगका लागि आईसीसीबाट समय पाउने सम्भावना रहेको छ । 

तर व्यस्त खेल तालिकाका कारण खेलाडीहरुले क्रिकेटका कुनै न कुनै फर्म्याटबाट सन्यासको घोषणा गरिरहेका छन् । त्यसैगरी, लिगको समयसँगै अष्ट्रेलिया भ्रमणको तालिका जुधेपछि दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज नखेल्ने घोषणा गरेको छ । 

आईसीसीले क्रिकेट बोर्डहरुलाई खेलाडीमाथिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको बोझ कम गर्न जिम्मेवारी दिएपनि देवले भने आईसीसीको मुख्य जिम्मेवारी भनेको क्रिकेटलाई व्यवस्थित गर्नु रहेको बताए । 

उनले युरोपेली राष्ट्रहरुले एक-अर्काबीच फुटबल खेल्नका लागि चार बर्ष कुरे झै क्रिकेट पनि त्यस्तै हुने सम्भावना रहेको बताए । यस हिसाबले क्रिकेट विश्वकप तथा त्यसपछि केवल घरेलु प्रतियोगिता हुन सक्ने सम्भावना रहने देवले दावी गरे । 
 


Author

थप समाचार
x