क्रिकेट

आईसीसी यू-१९ विश्वकप २०२४: के नेपाल छनोट हुने सम्भावना छ ?

इकागज |
भदौ ३, २०७९ शुक्रवार १२:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- सन् २०२४ मा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपका लागि एसिया महादेशमा दुई चरणको छनोट प्रतियोगिता हुने भएको छ । आईसीसीले जनाए अनुसार पहिलो चरण भनेको एसिया डिभिजन-२ क्वालिफायर तथा दोस्रो चरण भनेको एसिया क्वालिफायर हो । 

पहिलो चरणको छनोट यसै वर्षको सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म ओमानमा आयोजना हुनेछ । ओमानमा हुने छनोटमा आयोजक ओमानसँगै बहराईन, भुटान, हङकङ, कतार, साउदी अरेबिया, सिंगापुर तथा थाइल्यान्डको सहभागिता रहनेछ । 


ओमानमा हुने प्रतियोगिताको फाइनलमा स्थान बनाउने दुई टिम एसिया क्वालिफायरमा स्थान बनाउनेछन् । एसिया क्वालिफायरमा भने सात पटक विश्वकप खेलिसकेको नेपालसँगै कुवेत, मलेसिया र युएईले स्थान सुरक्षित गरिसकेका छन् । 

सन् २०२४ मा हुने यू-१९ विश्वकपमा १६ टिमको सहभागिता रहनेछ । आईसीसीका अनुसार आईसीसीका ११ ‘फुल मेम्बर’ राष्ट्रहरु अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र जिम्बाब्वेले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।

बाँकी ५ स्थानका लागि छनोट प्रतियोगिताहरु हुनेछन्। जसमा युरोप, एसिया, अफ्रिका, अमेरिका र इस्ट एसिया प्यासिफिकमा छनोट प्रतियोगिताहरु हुनेछन् र त्यहाँबाट ५ टिमले विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

यसको अर्थ भनेको युरोप, एसिया, अफ्रिका, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट केवल एक-एक टिममात्र विश्वकपमा स्थान बनाउनेछन् ।

एसिया क्वालिफायरबाट पनि एक टिमले मात्र स्थान बनाउने हुँदा नेपालका लागि भने पक्कै पनि सहज हुने छैन । किनभने विश्वकपमा स्थान बनाउन नेपालले सन् २०२३ मा हुने एसिया क्वालिफायरमा कुवेत, मलेसिया र युएईसँगै एसिया डिभिजन-२ क्वालिफायरबाट आउने दुई टिमलाई पछि पार्दै शीर्ष स्थानमा उभिनुपर्ने हुन्छ । 

नेपाल पछिल्ला तीन संस्करणको विश्वकपमा छनोट हुन सकेको छैन । 
 


Author

थप समाचार
x