क्रिकेट

क्रिकेट लिग-२: स्कटल्यान्डसँग नेपाल पराजित

इकागज |
मंसिर १८, २०७९ आइतबार १९:२५ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

विन्डहक मैदानमा भएको खेलमा स्कटल्यान्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्यान्डले ३२ ओभर  १ बलमा पुरा गर्‍यो ।


स्कटल्यान्डलाई जित दिलाउन क्रिस्टोफर माइकब्राइडले सर्वाधिक ४३ रन जोडे । ब्रान्डन म्याकमुलेनले ३२ तथा माइकल लिस्कले २२ रन जोडे । नेपालका लागि सागर ढकाल, कुशल भुर्तेल र ललित राजवंशीले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा सबै विकेट गुमाउँदै केवल १३७ रन जोड्यो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन तथा ज्ञानेन्द्र मल्लले २५ रन, अर्जून साउदले १८ र रोहित पौडेलले १७ रन जोडे । स्कटल्यान्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिए । मार्क वाटले २ विकेट लिए ।

सिरिज अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग एक-एक अंक बाँडेको थियो । स्कटल्यान्डले भने पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको थियो ।

सात टिम सहभागी लिग-२ अन्तर्गत नेपाल २२ खेलबाट जम्मा १८ अंक जोड्दै छैटौं स्थानमा छ । ३० खेल खेलेको स्कटल्यान्डको ४४ अंक छ ।


Author

थप समाचार
x