क्रिकेट

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती : क्यान

इकागज |
माघ १२, २०७९ बिहीबार १७:३ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा केही त्रुटी भएको स्वीकार गर्दै क्यानको कुनै गलत नियत नभएको समेत स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामो अनुभवका आधारमा सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको तर सम्झौतापछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेन थ्री स्पोर्ट्सले धोका दिएको बताए  ।


स्पट फिक्सिङ प्रकरणले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेकाले अब सबै मिलेर नेपाली क्रिकेटलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने उनले बताए । श्रम स्वीकृती ढिलादेखि सुरु भएको लिगको विवादमा संघको पनि केही त्रुटी रहेको चन्दले स्वीकार गरे ।

उनले अहिले लिगमा खेल्ने अधिकांश खेलाडीहरूले पारिश्रमिक पाइसकेको र केही खेलाडीहरूले पनि छिट्टै पाउने दाबी गरे । उनले स्पट फिक्सिङ प्रकरणमा प्रहरीलाई क्यानको पूर्ण सहयोग हुने बताए ।

लिग सुरु हुनुभन्दा पहिले नै सम्भावित फिक्सिङलगायतका घटनालाई मध्यनजर गदै सीआईबीलाई पत्र लेखेर प्रतिनिधि पठाउन भने पनि चन्दले बताए । उनले फिक्सिङ तथा कुनै अनियमिततामा क्यानका कुनै पदाधिकारी संलग्न भए कारबाही भोग्न तयार रहेको धारणा राखे ।

पत्रकार सम्मेलनमा चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा रहेको र विद्यमान कानुन अनुसार नै अघि बढ्ने बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छानबिनमा नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भन्दै दुई क्रिकेटरलाई पक्राउ गरिएको छ भने फिक्सिङ संलग्न हुन सक्ने आशंकामा अन्य १० जनामाथि पनि अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x