क्रिकेट

के नेपाली क्रिकेट अर्को दुर्घटनातर्फ उन्मुख छ ?

इकागज |
माघ १७, २०७९ मगलवार १६:२१ बजे

काठमाडौँ- पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) एकपछि अर्को विवादमा फस्दै गएको छ । पछिल्लो समय लगातार नेपाली टिमका पूर्व कप्तान सन्दीप लामिछानेको विवाद, नेपाल टी-ट्वान्टी लिगका लागि भारतीय कम्पनी सेथेनथ्री स्पोर्ट्ससँगको सम्झौता, नेपाल टी-ट्वान्टी लिगमा ‘स्पट फिक्सिङ’ तथा मुख्य प्रशिक्षकको नियुक्तिमा ढिलाइ जस्ता विवादमा फस्दै गएको छ ।

बन्द प्रशिक्षणमा रहेको तथा क्रिकेट खेल्न विदेश जानु अघिल्लो रात कसैलाई थाहै नदिइ सन्दीप होटलबाहिर बस्नु तथा उनीमाथि नाबालिगलाई बलात्कारको आरोप लगाइएपछि क्यान पदाधिकारीहरुको चर्को विरोध भएको थियो ।


त्यसपछि नेपाल टी-ट्वान्टी लिगका लागि आफ्नै सदस्यहरुको विरोधपछि पनि क्यान पदाधिकारीहरुले सेभेनथ्रीसँग ८ वर्षका लागि सम्झौता गरे । लिगका लागि टिम छनोटदेखि खेलाडीको अक्सन पनि बन्द कोठाभित्र गरिएको भन्दै पुनः सो विषय विवादित बनेको थियो ।

हुँदाहुँदा त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ गतेसम्म भएको नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निष्कर्ष निकालेपछि क्यानका ७ जना केन्द्रीय सदस्यहरूले नै क्यानको कार्यसम्पादन समिति सदस्यहरूको राजीनामा माग गरे ।

क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र  धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै क्यान अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका थिए ।

ती ७ जना सदस्यहरुले पोखरामा मंगलबारबाट सुरु भएको क्यानको बोर्ड बैठकका क्रममा उनीहरुको अध्यक्ष चन्दसहितका पदाधिकारीहरुको राजीनामा माग गर्दै बैठक नै बहिस्कार गरेका छन् ।

पोखरामा जारी बोर्ड बैठकमा नेपाल टी-ट्वान्टी लिग तथा सन्दीपमाथि लागेको निलम्बन फुकुवाको विषयसहित विभिन्न १७ वटा एजेन्डामा छलफल गरिने भएको छ ।

बोर्ड बैठक बसिरहँदा भने फेब्रुअरी १४ देखि त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज नजिकिदै गर्दा भने क्यानले राष्ट्रिय टिमको प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गरेपनि उक्त निर्णय सार्वजनिक गर्न सकेको छैन ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षक नियुक्तिको प्रकृयालाई अघि नबढाउँदा क्यानले प्रशिक्षक सार्वजनिक गर्न सकेको छैन ।

अर्कोतर्फ नेपाल टी-ट्वान्टी लिगलाई लिएर सिआइबी, आईसीसी, राखेप तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन जारी राखेका कारण पनि क्यान गहिरो विवादमा तानिदै गएकोमात्रै छैन, यसले अर्को दुर्घटनाको संकेत समेत गरिरहेको छ । 

सन्दीपमाथिको मुद्दा कायमै रहँदा उनलाई टिममा समावेश गर्ने विषयका कारण पनि क्यान विवादित बनेको छ ।


Author

थप समाचार
x