क्रिकेट

सन्दीपले रोहितकै कप्तानीमा खेल्नेछन् : मुख्य प्रशिक्षक देसाई

सञ्जीव शाह |
माघ २३, २०७९ सोमबार १७:३ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछानेले रोहित पौडेलकै कप्तानीमा खेल्ने सुनिश्चित गरेका छन् । टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनका क्रममा देसाईले रोहित नै टिमका कप्तान रहिरहने स्पष्ट पारे ।

‘यू-१९ देखि नै रोहितसँगको मेरो सहकार्य भएको छ । र उनले अहिले राम्रो गरिरहेका छन् । उनले नेतृत्व गर्ने ‘स्किल’ सिकिरहेका छन् । हामी त्यो सहकार्यलाई लामो समयसम्म लैजान चाहन्छौं,’ देसाईले भने ।


देसाईले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लामिछानेले नेपालका लागि खेल्ने पनि स्पष्ट पारेका छन् । लामिछानेमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।

‘म क्रिकेटको भाषा बुझ्छु र मसँग क्रिकेटको भाषाको राम्रो दख्खल छ । म आएदेखि सबै कुरा प्रक्रियागत भएको छ । उनी प्रक्रियागत तरिकाले टिममा आएका छन् । मैले सबै गतिविधि नियालिरहेको छ । र सन्दीप लामिछाने टिम हुनेछन् । खेलाडीहरूले लामिछानेलाई बन्द प्रशिक्षणमा स्वागत गरेका छन् । साथै टिममा गर्नुपर्ने काम उनले राम्ररी गरिरहेका छन्,’ देसाईले दाबी गरे ।

मुख्य प्रशिक्षक देसाईले लामिछानेमाथि लागेको बलात्कार आरोप तथा नेपाल टी-ट्वान्टी लिगमा भएको स्पट फिक्सिङले टिममा कुनै प्रभाव नपार्ने बताए ।

‘ड्रेसिङ रूपमा राम्रो वातावरण बनाउने मेरो उदेश्य छ । अहिलेको समय भनेको टिमका सबै एकजुट हुने हो । पछिल्ला कुराहरूले टिमको प्रदर्शनमा प्रभाव पार्ने छैन,’ देसाईले थपे ।

नेपाल क्रिकेट संघ (क्यान)ले देसाईसँग दुई वर्षको सम्झौता गरेका छ । जबकि पछिल्ला समयमा मुख्य प्रशिक्षकहरू टिक्न सकेका छैनन् । देसाईले भने सम्झौता अनुसार २ वर्ष नेपालमै बस्ने तथा सम्झौता नवीकरण गर्न सकिने समेत बताए ।

उनले छोटो लक्ष्य भनेको लिग १२ वटा खेल त्यसपछि विश्वकप छनोट र एसिया कप छनोट रहेको बताए ।

‘राम्रो नतिजा आए टिमलाई अझै राम्रो बनाउन मदत पुग्छ । दुई वर्ष भनेको एक पछि अर्को गर्दै जाने हो । लिग-२ पछि विश्वकप छनोटका लागि नामिबिया जाने साथै एसिया कप छनोट खेल्नु पर्नेछ । समग्र क्यालेन्डर थाहा भएपछि लामो समयको योजना बनाउन सकिन्छ,’ उनले थपे ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x