क्रिकेट

यू-१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको १० विकेटको जित

इकागज |
फागुन १६, २०७९ मगलवार १४:४७ बजे

काठमाडौँ- युएईमा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । मलेक क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो ।

यससँगै नेपालले लगातार चार खेलमा जित हात पारेको छ । यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन तथा हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।


नेपालले अब अन्तिम खेलमा आयोजक युएईविरुद्ध खेल्नेछ । सो खेलको नतिजाले आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने टिमको टुंगो लाग्नेछ ।

मंगलबारको खेलमा भने ७३ रनको लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाइ पुरा गर्‍यो । नेपालका लागि दिपक बोहराले ३८ रन तथा अर्जुन कुमालले २१ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ७२ रन जोड्यो । मलेसियाका लागि मुहमद अकरमले सर्वाधिक २६ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ४, आकाश चन्दले ३ मिलन बोहराले २ र सुवाश भण्डारीले १ विकेट लिए ।


Author

थप समाचार
x