क्रिकेट

विश्वकप क्रिकेट लिग-२

गतवर्ष अन्तिम खुड्किलोमा बाधक बनेको यूएईलाई हराउँदै नेपालले तय गर्ला विश्वकप छनाेट यात्रा ?

सञ्जीव शाह |
फागुन ३०, २०७९ मंगलबार १३:२९ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ ।

नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार हुने तालिका रहेको छ । नेपाल र यूएईबीचको खेल नै लिग-२ को अन्तिम खेल हुनेछ ।


साथै नेपाल र यूएईबीचको खेलले नै लिग-२ को शीर्ष ३ मा रहने अन्तिम टुंगो लाग्नेछ । लिग-२ को च्याम्पियन बनिसकेको स्कटल्यान्डसँगै दोस्रो स्थानमा रहेको ओमानको पनि शीर्ष ३ को स्थान सुरक्षित भइसकेको छ । बाँकी एक स्थानको लागि नामिबिया र नेपालबीच प्रतिस्पर्धा चलिरहेको छ ।

३६ वटै खेल खेलिसकेको नामिबिया ३९ अंकसहित अहिले तेस्रो स्थानमा छ । ३५ खेल खेलेको नेपालको भने ३८ अंक छ । नेपालले बिहीबारको खेलमा यूएईलाई पराजित गरे, नेपालले नामिबियालाई पछि पार्दै तेस्रो हुनेछ । यदि नेपालले खेल हारे चौथो स्थानमा सिमित हुनेछ ।

लिग-२ अन्तर्गत शीर्ष ३ मा रहने टिम सिधै विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्, जबकि पुछारका चार टिमले विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

त्यसैले विश्वकप छनोटमा स्थान बनाउन नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गर्नुपर्ने भएको छ । नेपालले यूएईसँग खेल्दै गर्दा गत वर्ष आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरको नतिजा भने ताजा वश्य हुनेछ ।

सन् २०२२ को फेब्रुअरी १८ देखि २४ तारिखसम्म यूएईमा भएको आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरको समूह चरणको तीनवटै खेल नेपालले जितेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

अर्कोतर्फ आयोजक यूएई भने समूहको उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेपछि नेपालको विश्वकपको यात्राको अन्तिम खुड्किलोमा यूएई आइपुग्यो ।

उक्त छनोटको फाइनलमा स्थान बनाउने दुई टिमले विश्वकपमा स्थान बनाउने समीकरण रहेको थियो । तर सेमिफाइनलमा भने यूएईसँग ६८ रनको पराजय भोगेपछि नेपालले अस्ट्रेलियामा गत वर्ष सम्पन्न टी-ट्वान्टी विश्वकप खेल्नबाट नेपाल चुक्यो । यूएई भने विश्वकपका लागि छनोट भएको थियो ।

यस पटक पनि नेपालको विश्वकप छनोटमा स्थान बनाउनका लागि यूएई नै अन्तिम खुड्किलोको रुपमा आएको छ ।

नेपालले पछिल्ला ११ खेलमा देखाएको प्रदर्शन तथा यूएईमाथि नै दर्ता गरेको जितका कारण नेपाल अहिले बलियो स्थितिमा देखिन्छ । नेपालले पछिल्ला ११ मध्ये १० खेलमा जित हात पार्दा २ पटक यूएईलाई पराजित गरेको छ । एक खेलमा पराजय पनि यूएईसँग नै भएको छ ।

तर यूएईविरुद्धको अन्तिम खेल नेपालले १ सय ७७ रनले जित्दा यूएई ७१ रनमै समेटिएको थियो । सो नतिजाले पनि नेपाल यूएईमाथि हावी रहेको र अन्तिम खेलमा पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रने निश्चित छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x