क्रिकेट

नेपाली क्रिकेटको सफलता : प्रशिक्षक देशाई कति हकदार ?

इकागज |
चैत ३, २०७९ शुक्रबार १६:२५ बजे

काठमाडौँ– एकदिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत पछिल्ला १२ मध्ये नेपाली क्रिकेट टोलीले ११ खेल जितेर ऐतिहासिक कीर्तिमान कायम गरेको हो । समग्र नेपाली क्रिकेटमा नेपालले श्रृङ्खलामा सबैभन्दा बढी जित हात पारेको हो ।

यो कीर्तिमानसँगै नेपालले जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न पाउने भएको छ । वामे सर्दै गरेको नेपाली क्रिकेट टोलीले टी–ट्वान्टी विश्वकप खेलिसकेको भएपनि त्यो लय निरन्तर थिएन । जसकारण नेपालले अहिले प्राप्त गरेको ऐतिहासिक सफलताको आफ्नै कथा तयार भएको हो ।


र, यसको सबैभन्दा माथिल्लो स्तरको कोरियोग्राफी प्रशिक्षक मोन्टी देशाईले गरेका हुन् । जसले नयाँ प्रशिक्षक नियुक्त भएसँगै थालेको प्रभावकारी कदमले गर्दा नेपाली क्रिकेट टिम स्वयंमले पनि नसोचेको सफलता हासिल भएको हो ।

कप्तान रोहित पौडेल प्रशिक्षक देशाईको रोजाईमा पर्नु र उनकै नेतृत्वको टिमलाई देशाईले निकै राम्रोसँग प्रशिक्षण दिएर एकदिवसीय संरचनामा ऐतिहासिक सफलता हासिल गर्नु सजिलो थिएन । स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिज सुरु हुनुअघि प्रशिक्षक देशाईले नेपालको एकदिवसीय मान्यता जोगाउन प्रयास गर्ने बताएका थिए ।

उनले निकै गम्भीरसँग परामर्श गरेर सार्वजनिक गरेको त्यो अभिव्यक्ति अहिले पूरा मात्रै भएको छैन, नेपालले अविश्वसनीय प्रदर्शन गर्दै शीर्ष तीन टोलीमा रहेर विश्वकप छनौटमा स्थान सुरक्षित गरेको छ ।

ब्याटिङमा वर्षौदेखि समस्याग्रस्त नेपाली युवा टिमलाई पोख्त बनाउनु र त्यही अनुसार टिममा विश्वास भर्नु सहज होइन । पूर्व भारतीय टिमका क्रिकेटर देशाईले नेपाललाई आज जहाँ उभ्याएका छन्, त्यसले धेरै वर्षसम्म ठूलो अर्थ राख्नेछ ।

र, नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा धेरै चर्चा गरिने लोभलाग्दो सफलता नेपाली क्रिकेट टिमको हातमा राखिदिएका छन् । जसको पुष्टि कप्तान रोहित पौडेलले पटक पटक खेलअघि र पछि हुने पत्रकार सम्मेलनमा गर्दै आएका छन् ।

ऐतिहासिक र श्रृङ्खलाबद्ध जित दिलाएका राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई जनही तीन÷तीन लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । प्रशिक्षक देशाईसहित क्रिकेट टोलीका सदस्यलाई बालुवाटारमा बधाई ज्ञापन गर्दै प्रचण्डले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।
तर क्रिकेट टोलीका सदस्यलाई जनही नगद रुपैयाँ दिएर सम्मान गरिरहँदा सरकार, मन्त्रिपरिषद्, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् वा क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले प्रशिक्षक देशाईलाई बिर्सनु हुँदैन । किनकि क्यान पदाधिकारीको लापरबाही, खेलाडीबीचको मनमुटाव र उमेरअनुसारका खेलाडीबीचको असमझदारीका कारण केही महिना पहिलेसम्म नेपाली क्रिकेट विवादको उत्कर्षमा थियो ।

तर क्यानले नियुक्त गरेको नयाँ प्रशिक्षकका कारण आज नेपाली क्रिकेटले ऐतिहासिक सफलता हासिल गरेको छ । त्यसमा पनि निकै ठूलो दबाब र विषम परिस्थितिमा सबैलाई सम्हाल्दै केवल खेलाडीलाई जित्न मात्रै उक्साइरहेका प्रशिक्षकलाई सम्मान गर्दा आगामी दिनमा नेपाली क्रिकेट प्रशिक्षक पद झन् आकर्षक बन्न सक्छ ।

देशाईले आफ्नो जिम्मेवारी जसरी निर्वाह गरेका छन्, त्यो विशेष मात्रै छैन । सारा नेपालीलाई खुशीको सञ्चार गराउने ऐतिहासिक काम पनि गरेका छन् । उनले युवा खेलाडीहरुको क्षमता जसरी उजागर गरेका छन्, त्यसले नेपाली क्रिकेटको सफल वर्तमान र झन् उत्कृष्ट भविष्य देखाइरहेका छन् ।

युवा खेलाडीले भरिपूर्ण टिममा सबैलाई परिपक्व बनाउन चानचुने विषय होइन । त्यसमाथि खेलाडीबीचकै विभिन्न समस्यालाई लिएर उठेको प्रश्नलाई केवल जितबाट जवाफ दिलाउनु कम चानचुने थिएन । निकै कठिन परिस्थितिबाट गुज्रिरहेको नेपाली क्रिकेट टोलीलाई उत्कृष्ट लयमा फर्काउँदै लगातार जित निकाल्दै विश्वमै शीर ठाडो बनाउन सक्ने अवस्थामा नेपालीलाई पुर्याउन देशाईको भूमिका महत्वपूर्ण हुन आउँछ । 

कप्तान रोहित पौडेल पटक पटक भनिरहेका छन्, ‘देशाई सर आएपछि ड्रेसिम रुमको वातावरण फेरिएको छ । सबैको हौसला बढेको छ । जस्तोसुकै अवस्थामा पनि संयमित भएर खेलाडीलाई आत्मविश्वास दिनुहुन्छ । त्यसैले नेपाली क्रिकेटको यो जितको सबैभन्दा ठूलो श्रेय देशाई सरलाई जान्छ ।’

ऐतिहासिक जित दिलाएका कप्तान पौडेल स्वयंम प्रशिक्षक देशाईप्रति जितको श्रेय दिइरहेका छन् भने नेपाल सरकार या क्यानले अब प्रशिक्षकलाई केवल जागिरे मात्रै बनाउनु हुँदैन । नेपाली क्रिकेटमा हिजोका दिनमा पुबुदु दासानायकेले जुन ऐतिहासिक जिम्मेवारी निर्वाह गरेर नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मैदानमा चिनाएका छन्, त्यसैगरी प्रशिक्षक देशाईले पनि वीर गोर्खालीका सन्तान भन्दै नेपाली युवा खेलाडीको क्षमतालाई संसारसामु उजागर गरेका छन् ।

यस्तो उत्कृष्ट जित विश्वका सायदै प्रशिक्षकले आफ्नो टिमलाई दिलाएका छन् । त्यसमाथि एकदिवसीय मान्यता पाएको केही वर्षमा निकै खराब अवस्थाबाट गुज्रिरहेको टिमलाई उत्कृष्ट लयमा फर्काउन निकै ठूलो र प्रशंसनीय काम हो । यसलाई सरकारले केवल घटनाक्रमकै उपलब्धीका रुपमा लिने मात्रै नभई उत्कृष्ट खेल्ने र देशलाई जिताउने कामका रुपमा प्रोत्साहन, पुरस्कार र प्रतिभा चिनेर सम्मान गर्ने परिपाटीमा बदल्न जरुरी छ । जसको सुरुवात प्रशिक्षक देशाईबाट गर्न जरुरी छ ।
 


Author

थप समाचार
x