क्रिकेट

नेपाल-भारत मैत्रीपूर्ण महिला क्रिकेट टि-२० श्रृंखलाको उपाधि विराटनगर क्रिकेट क्लबलाई

इकागज |
चैत ६, २०७९ सोमबार २१:३३ बजे

विराटनगर- नेपाली महिला क्रिकेट राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीले सम्हालेको विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (विसिसिए) ले विराटनगरमा आयोजित प्रथम रेडमड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगिताको तिन श्रृंखला मध्ये विसिसिएले मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको दुई श्रृंखला जित्दै नतिजा आफ्नो पक्षमा पारेको छ । सोमबारको अन्तिम टि–२० श्रृंखलामा विसीसीएले भारतको अल इण्डिया वुमन टि–२० क्रिकेट एसोसिएसनलाई ४९ रनले पराजित गरेको हो ।


शनिबारको उद्घाटन खेलमा भारतलाई ९ विकेटले पराजित गरेको विसिसिए आइतबार भने ६ विकेटले पराजित हुँदा श्रृंखला १–१ मा अघि बढेको थियो । तर, सोमबारको खेलमा भारतले टस जितेर फिल्डिङ सम्हाल्दा ब्याटिङमा उत्रिएको वीसीसीएले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३७ रन जोडेको थियो । 
नेपाली टिमका लागि सम्झना खडकाले नटआउट रहि ५५ रन जोडिन् । त्यस्तै कविता जोशी पनि ११ रनमा नटआउट भइन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीले अर्धशतकको रेकर्डसहित ५१ रनको योगदान गरिन् ।

भारतकी कप्तान रितु मोहन भोसले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिएका थिए । १३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय महिला टोलीले पूरै ओभर खेल्दा ७ विकेट गुमाउँदै ८८ रनमा सीमित बन्यो ।

भारतकी अरपिताले ३७ र निधि भाग्यसियाले नटआउट १७ रन बाहेक राम्रो योगफल अरुले जोड्न सकेनन् । भारतको विकेट पतनका लागि वीसीसीएकी कप्तान रुविना क्षेत्री, सवनम राई, कविता जोशी र अस्मिता कर्मचार्यले क्रमशः १–१ पटक मौका उपयोग गरे ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भएको मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम ओडिआई खेल मंगलबार हुँदैछ । विराटनगर–६ स्थित मेलवर्न ज्वाला क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तरगत मंगलबार ३० ओभरको खेल हुने जनाइएको छ । मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) बेलायतसँगको व्यवस्थापकीय सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

भारतीय पहुना टोलीबाट भारतकै स्टेट क्रिकेट खेलिरहेका महिला क्रिकेटरले सहभागिता जनाएका छन् ।


Author

थप समाचार
x