क्रिकेट

'स्पिरिट अफ क्रिकेट अवार्ड' जितेका आशिफलाई मधेश सरकारको दुई लाख

इकागज |
चैत १०, २०७९ शुक्रवार १०:६ बजे

काठमाडौँ- मधेश प्रदेश सरकारले ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखलाई २ लाख प्रदान गर्ने भएको छ ।

आयरल्यान्डविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलका क्रममा देखाएको खेल भावनाको कदर गर्दै इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र बीबीसीले शेखलाई सो अवार्ड दिने घोषणा गरेको थियो ।


बलर कमल सिंह ऐरीसँग ठोक्किएपछि आयरल्यान्डका ब्याट्सम्यान एन्डी म्याकब्राइनलाई शेखले रन आउट गर्न अस्वीकार गरेका थिए । विपक्षीलाई न्यान नहुने अचानक मनमा लागेपछि एन्डीलाई रन आउट नगरेको शेखले जनाएका थिए ।

उक्त अवार्ड जितेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पारेको भन्दै शेखलाई २ लाख प्रदान गर्ने घोषणा गरेका हुन् ।

शेख पर्सा जिल्लाको विरगंज निवासी हुन् । उनले २०२२ फेब्रुअरी १४ मा आयरल्यान्डका म्याकब्राइनलाई रन आउट गर्ने अवसर पाए पनि उनले खेलभावना देखाउँदै रनआउट गरेनन् ।

जसका कारण उनले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्राप्त गरेका थिए ।

यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई-दुई लाख प्रदान गर्ने घोषणा गरेको थियो ।


Author

थप समाचार
x