क्रिकेट

मेयर्स कप क्रिकेटः मधेश प्रदेशको लगातार दोस्रो हार

इकागज |
चैत ११, २०७९ शनिबार ११:५१ बजे

काठमाडौँ- ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार दोस्रो पराजय भोगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले सुदूरपश्चिम प्रदेशविरुद्ध ७ विकेटको पराजय भोग्यो । सुदूरपश्चिमको तीन खेलमा यो दोस्रो जित हो ।

यसअघि मधेश प्रदेशले पहिलो खेलमा नेपाल एपीएफसँग १० विकेटको पराजय भोगेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५१ रनले पराजित गर्दा दोस्रो खेलमा एपीएफसँग १५ रनको पराजय भोगेको थियो ।


शनिबारको खेलमा मधेशविरुद्ध ६६ रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि रितु कनौजियाले २१ रन तथा कप्तान विन्दु रावलले १० रन बनाए । रुबी पोदारले १४ रनको योगदान गरिन् ।

मधेशका लागि सरस्वती चौधरी, सन्तोषी चौधरी र अनुराधा चौधरीले एक-एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन बनायो । मधेशका लागि अलिसा यादव र सरस्वती चौधरी समान १५-१५ रन जोडे ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट हात पार्दा सम्झना खड्का र रितु कनोजियाले २-२ विकेट लिए ।


Author

थप समाचार
x