क्रिकेट

सुदूरपश्चिमलाई पराजित गर्दै कोशी मेयर्स कपको फाइनल नजिक

इकागज |
चैत १३, २०७९ सोमबार १६:३४ बजे

काठमाडौँ- कोशी प्रदेशले मेयर्स कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले फाइनलको सम्भावना कायमै राखेको हो ।

कोशीले तीनमध्ये २ खेल जित्दै चार अंक ल्याएको छ । पाँच टिमको सहभागिता रहेको प्रतियोगितामा सुदूरपश्चिमले चारवटै खेल खेल्दै जम्मा चार अंक जोडेपनि नेटरन रेटमा कोशी भन्दा तल छ । नेपाल एपीएफ भने लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ ।


कोशीले अन्तिम खेल भने मधेश प्रदेश तथा एपीएफले आयोजक ललितपुर मेयर्स-११ विरुद्ध खेल्ने छ । सोही खेलको नतिजाले फाइनल पुग्ने अन्तिम टिमको टुंगो लगाउनेछ ।

सोमबारको खेलमा भने ८३ रनको लक्ष्य कोशीले १५ ओभर ३ बलमा केवल १ विकेट गुमाएर पूरा गर्‍यो । कोशीका लागि काजल श्रेष्ठले ४० तथा कप्तान रुविना क्षेत्रीले २८ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रन मात्र जोड्यो । कप्तान विन्दु रावलले सर्वाधिक ३० रन जोडिन् । कोशीका लागि अप्सरी बेगम र रुविना क्षेत्रीले समान ३-३ विकेट लिए ।


Author

थप समाचार
x