क्रिकेट

आईपीएलमा साविक विजेता गुजरातको शानदार सुरुवात

इकागज |
चैत १८, २०७९ शनिबार ८:५४ बजे

काठमाडौँ- नयाँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाइटन्सले शानदार सुरुवात गरेको छ । शुक्रबार राति भएको उदघाटन खेलमा गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्‍यो ।

१ सय ७९ रनको लक्ष्य गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातलाई जित दिलाउन शुवमन गिलले ३६ बलमा सर्वाधिक ६३ रनको योगदान गरे । विजय शंकरले २७ रन बनाए । चेन्नईका लागि राजवर्धन हंगारगेकरले सर्वाधिक ३ विकेट हात पारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो । चेन्नईका लागि रुतुराज गाइक्वाडले ५० बलमा सर्वाधिक ९२ रन जोड्दा पनि त्यो जितका लागि पर्याप्त भएन ।

गुजरातका मोहमद सामी, राशिद खान र अल्जारी जोशेफले समान २-२ विकेट हात पारे ।

आईपीएलमा आज भने दुई खेल हुने तालिका रहेको छ । पहिलो खेल पञ्जाब किंग्स र कोलकता नाइट राइडर्स तथा दोस्रो खेल लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच हुनेछ ।


Author

थप समाचार
x