क्रिकेट

एसीसी प्रिमियर कप फाइनल

आज खेल पूरा नभए भोलि यूएईले अहिलेकै अवस्थाबाट ब्याटिङ गर्छ : क्यान

सञ्जीव शाह |
बैशाख १८, २०८० सोमवार १३:१४ बजे

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको हो । वर्षा अझै जारी रहेका कारण खेल हुने सम्भावना न्यून बन्दै गएको छ ।


यस्तो अवस्थामा फाइनल भोलिका लागि रहेको ‘रिजर्भ डे’ मा खेलाइने छ । तर ‘रिजर्भ डे’ मा भने अहिलेकै अवस्थाबाट खेल हुने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले इकागजलाई बताए ।

‘खेल’ अहिलेकै अवस्थाबाट सुरु हुन्छ,’ पाठकले बताए । यसको अर्थ मंगलबार पुनः खेल हुने सम्भावना रहे युएईले २७ ओभर ३ बलमा गुमाएको ९ विकेटबाट ब्याटिङ गर्न आउनेछ । तर मंगलबार पनि पानी पर्ने सम्भावना रहेका कारण खेल पूरा हुनेमा आशंका छ ।

वर्षका कारण खेल प्रभावित भए दुई पटकसम्म सुपर ओभर खेलाएर नतिजा निकाल्ने प्रयास हुनेछ । तर सुपर ओभर पनि सम्भव नभए प्रतियोगिताको वरीयता अर्थात आईसीसीको एकदिवसीय वरीयता अनुसार विजेताको टुंगो लाग्नेछ ।

आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा रहँदा यूएई भने १९ औँ स्थानमा छ । वरीयताअनुसार नेपाल नै विजेता घोषित हुनेछ ।

यसरी एसीसी प्रिमियर कपको विजेताले भने पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ र भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने सुनिश्चित हुनेछ ।

सोमबार वर्षाका कारण खेल प्रभावित हुनुअघि यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन, आर्यन लाकराले १३ रन तथा कप्तान मुहम्मद वासिमले ११ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ करण केसीले २, सन्दीप लामिछानेले २ तथा गुल्सन झा र सोमपाल कामीले १-१ विकेट हात पारे ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x