क्रिकेट

आईसीसीले पाकिस्तानलाई फकाउँदै गर्दा श्रीलंका एसिया कप आयोजना गर्ने तयारीमा

इकागज |
जेठ १७, २०८० बुधवार ११:३० बजे

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानलाई भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्नका लागि फकाउँदै गर्दा श्रीलंकाले भने यसै वर्ष आयोजना हुने एसीसी एसिया कप आयोजना गर्ने तयारी गरिरहेको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सेप्टेम्बरमा हुने एसिया कपका लागि आयोजनाको अधिकार पाकिस्तानलाई दिएको छ । एसिया कपमा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपालको पनि सहभागिता रहनेछ ।


तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एसिया कपका लागि भारतीय क्रिकेट टिम पाकिस्तान नजाने घोषणा गरिसकेको छ ।

यसको विकल्पमा पाकिस्तानले भने भारतले खेल्ने खेलसहित अन्य खेल यूएईमा आयोजना गर्ने ‘हाइब्रिड मोडल’ अघि सारेको छ । तर त्यसलाई पनि भारतले अस्विकार गर्दै पूरै प्रतियोगिता नै पाकिस्तानबाट सार्नुपर्ने मनसाय व्यक्त गरेको छ ।

तर पाकिस्तानले भने एसिया कपको अधिकार पाकिस्तानलाई नभए भारतमा अक्टोबर ५ देखि आयोजना हुने आईसीसीको एकदिवसीय विश्वकप नखेल्ने चेतावनी दिएको छ । जसका कारण आईसीसी अध्यक्ष ग्रेग बारक्ले र सिईयो जेओफ अलारडाइकले भने पाकिस्तान भ्रमण गरी विश्वकपमा सहभागिता सुनिश्चित गर्न पाकिस्तानको भ्रमण गरेको अलजजिराले जनाएको छ ।

तर यसैबीच श्रीलंकाले एसिया कप आयोजना गर्नका लागि तयारी अघि बढाएको टाइम्सनाउले जनाएको छ । श्रीलंका क्रिकेट बोर्डका पदाधिकारीहरुले श्रीलंकाले एसिया कप आयोजनाका लागि तयारी अघि बढाएको बताएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलका क्रममा अहमदाबादमा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपालका क्रिकेट बोर्डका पदाधिकारीहरुले एसीसीका अध्यक्ष समेत रहेका बीसीसीआईका सचिव जय शाहसँग यसबारे अनौपचारिक छलफल गरेका थिए ।

श्रीलंकाका पदाधिकारीले क्रिकेबजलाई जानकारी दिएअनुसार एसीसीले अनुमति दिए छोटो समयमै श्रीलंकाले एसिया कप आयोजनाका लागि तयार छ ।


Author

थप समाचार
x