क्रिकेट

पूर्व कप्तान हुपर वेस्ट इन्डिज क्रिकेट टिमको सहायक प्रशिक्षकमा नियुक्त

इकागज |
जेठ १९, २०८० ११:५९ बजे

काठमाडौँ- यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअघि पूर्व कप्तान कार्ल हुपर वेस्ट इन्डिजको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

जिम्बाब्वेमा जुन १८ देखि सुरु हुने विश्वकप छनोटअघि वेस्ट इन्डिजले यूएईविरुद्ध जुन ४ तारिखदेखि ३ खेलको एकदिवसीय सिरिज खेल्दैछ । विश्वकप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको वेस्ट इन्डिजले पहिलो खेल जुन १८ मा अमेरिका, दोस्रो खेल नेपालविरुद्ध जुन २२, तेस्रो खेल जिम्बाब्वेविरुद्ध जुन २४ तथा चौँथो खेल नेदरल्यान्ड्सविरुद्ध जुन 26 मा खेल्ने तालिका रहेको छ ।


यूएईविरुद्धको सिरिज तथा विश्वकप छनोटलाई लक्षित गरेर वेस्ट इन्डिज क्रिकेट बोर्डले आफ्ना पूर्व कप्तान हुपरलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो । ड्यारेन स्यामी भने मुख्य प्रशिक्षक रहेका छन् ।

५६ वर्षीय हुपर गत सिजनको अस्ट्रेलियाको बिग बास लिगमा एडिलेड स्ट्राइकरको सहायक प्रशिक्षक नियुक्त भएका थिए । उनले क्यारेवियन प्रिमियर लिगमा एन्टिगुआ हकविल्स र गुयाना एमाजोनको पनि प्रशिक्षकको रुपमा काम गरेका छन् ।

वेस्ट इन्डिजका पूर्व अलराउन्डर हुपरले एकदिवसीय र टेस्टमा गरी ५ हजार रन बनाउनुका साथै एक सय विकेट समेत हात पारेका छन् ।

यता वेस्ट इन्डिजकै पूर्व कप्तान फ्लोयड रेफर तथा न्यूजिल्यान्डका अलराउन्डर जेम्स फ्रान्कलिन पनि सहायक प्रशिक्षक नियुक्त भएका छन् ।


Author

थप समाचार
x