क्रिकेट

मलेसियासँग नेपाल पुनः पराजित, सिरिज बराबरीको अवस्थामा

इकागज |
जेठ २०, २०८० शनिबार ११:५५ बजे

काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टिम पुनः पराजित भएको छ । यससँगै नेपाल र मलेसियाबीचको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-२ को बराबरीमा पुगेको छ ।

शनिबार भएको चौँथो खेलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गर्‍यो । यसअघि पहिलो खेल पनि मलेसियाले जितेको थियो । दोस्रो र तेस्रो खेल भने नेपालले आफ्नो पक्षमा पारेको थियो । नेपाल र मलेसियाबीचको अन्तिम खेल आइतबार हुनेछ ।


चौँथो खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

मलेसियालाई जित दिलाउन विनिफ्रेड अन्नेले ३८ रन तथा मास इलयसाले १३ रन बनाए । महिराह इस्माइलले १६ रन जोडिन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर र सिता राना मगरले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन जोड्यो । नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको मदतमा सर्वाधिक ३२ रन जोडिन् ।

सम्झना खड्काले ८, काजल श्रेष्ठले ६, सिता राना मगरले ५ तथा ज्योती पाण्डेले १ रन जोड्दा कप्तान रुविना क्षेत्री शून्य रनमा आउट भए । विन्दु रावलले २४ तथा कविता कुँवरले १२ रनको योगदान गरे ।

मलेसियाका लागि विनिफ्रेड एन्नेले सर्वाधिक ३ तथा महिरन इस्माइल र आस्या इलिसाले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x