क्रिकेट

विश्वकप छनोटका लागि वेस्ट इन्डिजले टिममा समेट्यो अनुभवी ओपनर

इकागज |
जेठ २६, २०८० शुक्रबार ११:४९ बजे

काठमाडौँ- जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने आईसीसी क्रिकेट विश्वकप छनोटका लागि वेस्ट इन्डिजले टिममा अनुभवी ओपनरलाई समेटेको छ । आईसीसीले जनाएअनुसार वेस्ट इन्डिजले ओपनर जोनसन चार्ल्सलाई टिममा भित्र्याएको हो ।

घाइते भएका गुडाकेस मोटीले विश्वकप छनोट गुमाउने निश्चित भएपछि वेस्ट इन्डिजले चार्ल्सलाई १५ सदस्यीय टिममा समेटेको हो ।


सन् २०१६ मा वेस्ट इन्डिजले टी-ट्वान्टीको विश्वकपको उपाधि जित्दा प्लेइङ-११ मा रहेका चार्ल्स लामो समय टिममा नपरेपनि सन् २०२२ को विश्वकपका लागि टिममा पुनः स्थान बनाएका थिए ।

३४ वर्षीय चार्ल्सले यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि पनि टिममा स्थान बनाएका छन् । उनले यूएईविरुद्धको दोस्रो खेलमा ४७ बलमै ६३ रन जोडेका थिए ।

सन् २०२१ मा एकदिवसीयमा डेब्यु गरेका चार्ल्सले वेस्ट इन्डिजका लागि ५० एकदिवसीय खेल्दै १ हजार ३ सय ७० रन बनाएका छन् ।

विश्वकप छनोटका लागि समूह ‘ए’ मा परेको वेस्ट इन्डिजले पहिलो खेल अमेरिकाविरुद्ध जुन १८ मा खेल्नेछ । वेस्ट इन्डिजले दोस्रो खेल नेपालविरुद्ध जुन २२ मा खेल्ने तालिका रहेको छ ।

उसले तेस्रो खेल जिम्बाब्वेसँग जुन २४ तथा चौँथो खेल नेदरल्यान्ड्सविरुद्ध जुन २६ मा खेल्नेछ ।

 


Author

थप समाचार
x