क्रिकेट

विश्वकप छनोट

वेष्ट इन्डिजसँग नेपाल पराजित

इकागज |
असार ७, २०८० बिहीबार २०:४२ बजे

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले दोस्रो पराजय भोगेको छ । समूह ‘ए’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले वेष्ट इन्डिजसँग १०१ रनको पराजय भोगेको हो ।

यसअघि पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय भोगेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।


बिहीबार ३४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरको २ बल बाँकी छँदै सबै विकेट गुमाएर २३८ रन बनायो । नेपालका लागि आरिफ शेखले ६३ रन जोडे । गुल्सन झाले ४२ तथा रोहित पौडेलले ३० रन बनाए । वेष्ट इन्डिजका जासोन होल्डरले ३ विकेट हात पारे ।

यसअघि जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन जोड्यो ।

वेष्ट इन्डिजका लागि कप्तान शाई होप र निकोलस पूरन दुवैले शतक प्रहार गरे । शाई होपले १२९ बलमा १३२ रन जाेडेका थिए । निकोलस पूरनले ९४ बलमा १ सय १५ रन बनाएका थिए ।  पूरन र होपले वेष्ट इन्डिजलाई चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
 


Author

थप समाचार
x