यू-१६ क्रिकेटः नेपालसँग थाइल्यान्ड २२५ रनले पराजित
काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गरेको छ । यससँगै समूह ‘ए’ मा रहेको नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
तीन टिम समावेश यस समूहमा मलेसियाले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो । नेपालले जितेसँगै मलेसिया पनि अन्तिम चारमा प्रवेश गरेको छ ।
बुधबार नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १३ ओभर २ बलमा सबै विकेट गुमाएर रनमात्र जोड्न सक्यो । थाइल्यान्डका लागि एहसान बनर्जीले १६ रन तथा दानुपोथ फुआङयोटिपिनिटले १२ रन बनाए ।
नेपालका लागि सन्तोष यादवले सर्वाधिक ५ विकेट हात पारे । अशोक धामीले ३ र अभिषेक तिवारीले २ विकेट लिए ।
यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोड्यो ।
नेपालका लागि निरज कुमार यादवले ४३ बलमै सर्वाधिक ७४ रन जोड्दा ८ चौका र ६ छक्का हिर्काए । नरेनले ५५ रन बनाए । सन्तोष यादवले ४२ रन तथा सुर्यान्सु कोइरालाले ४० रन जोडे ।
थाइल्यान्डका लागि नटपाखन मानोओन, फानुवाट डसुन्गनोएन र राथासाट वानिचाखमले समान २-२ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया