क्रिकेट

यू-१६ क्रिकेटः नेपालले मलेसियालाई हराउँदा अशोकको ‘अलराउन्ड’ प्रदर्शन

इकागज |
असार १५, २०८० शुक्रबार १२:१९ बजे

काठमाडौँ- समूह विजेता बन्दै नेपाल एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत नेपालले दोस्रो खेलमा आयोजक मलेसियालाई ८४ रनले पराजित गर्दै समूह विजेता बनेको हो । नेपालको जितमा अशोक धामीले ‘अलराउन्ड’ प्रदर्शन गरे ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गरेको थियो । यता पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको मलेसिया भने उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ ।


शुक्रबार भएको खेलमा नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसियाले ३० ओभर ५ बलमा सबै विकेट गुमाएर ९९ रनमात्र जोड्न सक्यो । मलेसियाका लागि मुहम्मद हैरिलले २५ रन तथा कप्तान मुहम्मद आलिफले १५ रन बनाए ।

नेपालका लागि अशोक धामीले ४ विकेट लिए । कप्तान अभिशेक तिवारीले ३, सन्तोष यादवले २ विकेट तथा कृतिक कामतले विकेट  हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि अशोक धामीले ३६ बलमा ५२ रनको योगदान गर्दा ५ छक्का र ३ चौका हिर्काए । अशोक धामीले २५ औँ ओभरमा हडिफ इरफानलाई लगातार ३ छक्का हिर्काएका थिए । नरेनले २९ रन बनाए । सुर्यान्सु कोइराला २९ रनमा आउट भए । क्रितिक कामतले १६ रन र दिपु कुमारले १५ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अकरम, मुहम्मद मुक्री, हजिक हैकल र अरियन अकिलले २-२ विकेट लिए ।


Author

थप समाचार
x