एसेज सिरिजः अस्ट्रेलियाविरुद्धको सिरिज जित्ने इंग्ल्यान्डको सम्भावना कायमै
काठमाडौँ- आयोजक इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एसेज टेस्ट सिरिज जित्ने सम्भावना कायमै राखेको छ । आइतबार सम्पन्न सिरिजको तेस्रो खेल ३ विकेटले आफ्नो पक्षमा पार्दै इंग्ल्यान्डले पाँच खेलको सिरिज जित्ने सम्भावना कायमै राखेको हो ।
यसअघिका दुवै खेल भने अस्ट्रेलियाले जितेको थियो । तर तेस्रो खेलपछि सिरिज २-१ को अवस्थामा पुगेको छ ।
तेस्रो खेल जित्न २ सय ५१ रनको लक्ष्य इंग्ल्यान्डले ७ विकेट गुमाएर पूरा गर्यो । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले पाचौँ पटक २ सय ५० रनमाथिको लक्ष्य पूरा गरेको छ ।
त्यसैगरी, क्रिस ओक्स र मार्क उड टिममा सँगै हुँदा इंग्ल्यान्ड ४७ वटा खेलमा अपराजित रहेको छ । त्यसमध्ये ४३ खेलमा इंग्ल्यान्डले जित हात पारेको छ ।
इंग्ल्यान्डलाई जित दिलाउन दोस्रो इनिङ्समा ह्यारी ब्रुकले सर्वाधिक ७५ रनको योगदान गरे । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ५ विकेट हात पारेपनि त्यो जितका लागि पर्याप्त भएन ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा मिचेल मार्सको १ सय १८ रनको मदतमा २ सय ६३ रन जोडेको थियो । इंग्ल्यान्डका मार्क उडले ५ विकेट लिए ।
जवाफमा इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ३७ रन जोड्यो । उसका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ८० रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले सर्वाधिक ६ विकेट हात पारे ।
दोस्रो इनिङ्समा भने अस्ट्रेलिया २ सय २४ रनमै समेटियो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७७ रन बनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया