क्रिकेट

विश्वकपमा छनोट नभएको टिमका खेलाडीले जोडे सर्वाधिक रन, धेरै विकेट लिने खेलाडी को ?

इकागज |
असार २५, २०८० सोमबार १३:१३ बजे

काठमाडौँ- जिम्बाब्वेमा आइतबार सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको उपाधि श्रीलंकाले जितेको छ । हाररेमा भएको फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई १ सय २८ रनले पराजित गरेर उपाधि जितेको हो ।

फाइनलमा पुगेका श्रीलंका र नेदरल्यान्ड्स भारतमा अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।


छनोटमा सहभागी टेस्ट राष्ट्रहरु जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्डसँगै एसोसियट राष्ट्रहरु नेपाल, स्कटल्यान्ड, यूएई, अमेरिका र स्कटल्यान्ड भने समूह चरण अथवा सुपर सिक्सबाटै घर फर्किए ।

श्रीलंका र नेदरल्यान्ड्स फाइनलसम्म पुगेपनि सर्वाधिक रन प्रहार गर्ने खेलाडी भने जिम्बाब्वेका हुन् ।

जिम्बाब्वेका सिन विलियम्सले सर्वाधिक ६ सय रन जोडेका थिए । सात खेल खेलेका विलियम्सले ६ सय रन जोड्दा ३ शतक तथा २ अर्धशतक प्रहार गरे ।

त्यसैगरी, श्रीलंकाका पाथुम निसाङ्का र दिमुथ करुणारत्ने सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

पाथुमले ८ खेल खेल्दै ४ सय १७ रन जोड्दा २ शतक तथा २ अर्धशतक हिर्काए । यता दिमुथले ७ खेलमा ३ सय ६९ रन बनाउँदा १ शतक तथा ३ अर्धशतक प्रहार गरे ।

यता सर्वाधिक विकेट लिने खेलाडीमध्ये श्रीलंकाका २ तथा नेदरल्यान्ड्सका एक खेलाडी छन् ।

श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक २२ विकेट हात पारे । उनले ७ खेल खेल्दा ३ पटक ५ वा सोभन्दा बढी विकेट हात पारे ।

श्रीलंकाकै महिस थिक्सानाले ८ खेलमा २१ विकेट हात पारे । उनले ३ खेलमा समान सर्वाधिक ४-४ विकेट लिए ।

त्यसैगरी, नेदरल्यान्ड्सका बास डी लिडेले ७ खेलमा १५ विकेट लिए । उनले एक खेलमा सर्वाधिक ५ विकेट समेत हात पारेका थिए ।


Author

थप समाचार
x