क्रिकेट

एसिया कपः कुशलको ६ विकेट र अर्धशतकमा नेपालले यूएईलाई हरायो

इकागज |
साउन ३, २०८० बुधबार १५:४५ बजे

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको हो ।


यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाललाई जित दिलाउन कुशल भुर्तेलले सर्वाधिक ७१ रन तथा देव खनाल र सन्दीप जोराले समान २४-२४ रन जोडे ।

यूएईका मोहम्मद फराजुदिनले सर्वाधिक ५ तथा मुहम्मद जवादुल्लाहले १ विकेट हात पारे ।

यसअघि पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन जोड्यो ।

यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रनको योगदान गरे । इथान डी’सुजाले १८, अश्वन्थ भालथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले ६ तथा मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिए ।

एकदिवसीय क्रिकेटको एकै खेलमा ६ विकेट लिने तथा अर्धशतक पनि पूरा गर्ने कुशल भुर्तेल पहिलो नेपाली खेलाडी बनेका छन् ।


Author

थप समाचार
x