सन्दीप २ सय अन्तर्राष्ट्रिय विकेट र दिपेन्द्र २ हजार रन नजिक
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट नजिक पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गर्न सन्दीपलाई अब केवल ४ विकेट मात्र आवश्यक रहेको छ ।
उनले एकदिवसीय अन्तर्राष्ट्रिय तथा टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जम्मा १ सय ९६ विकेट हात पारिसकेका छन् । सन्दीपले ४९ एकदिवसीय खेलमा १ सय ११ तथा ४३ टी-ट्वान्टी खेलमा ८५ विकेट हात पारेका छन् ।
सन्दीपपछि नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीमा करण केसी र सोमपाल कामी रहेका छन् । करणले १ सय ३३ विकेट हात पारेका छन् । करणले ४६ एकदिवसीय खेलमा ७३ तथा ४३ टी-ट्वान्टीमा ६० विकेट लिएका छन् ।
यता सोमपालले भने ४७ एकदिवसीय खेलमा ६३ तथा ४२ टी-ट्वान्टी खेलमा ३८ गरी जम्मा १ सय १ विकेट लिएका छन् ।
यता अलराउन्डर दिपेन्द्र सिंह ऐरी भने २ हजार अन्तर्राष्ट्रिय रन नजिक पुगेका छन् । उनले एकदिवसीय र टी-ट्वान्टीमा गरी जम्मा १ हजार ९ सय ६० रन बनाएका छन् ।
५० एकदिवसीय खेलमा दिपेन्द्रले ८ सय ५७ तथा ४४ टी-ट्वान्टी खेलमा १ हजार १ सय ३ रन बनाएका छन् ।
यता कप्तान रोहित पौडेलले ५२ एकदिवसीयमा १ हजार ४ सय ६९ रन तथा २१ टी-ट्वान्टीमा ३ सय ७६ रनसहित जम्मा १ हजार ८ सय ४५ रन बनाएका छन् ।
यता आशिफ शेखले भने १ हजार ६ सय ५५ रन बनाएका छन् । उनले ४१ एकदिवसीय खेलमा १ हजार १ सय ८७ तथा २० टी-ट्वान्टीमा ४ सय ६८ रन जोडेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया