वेस्ट इन्डिजविरुद्ध भारतीय टोलीले २००औँ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दै
काठमाडौँ- भारतीय राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध आफ्नो २०० औँ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दै छ । ब्रायन लारा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती ८ः१५ बजेबाट सुरु हुनेछ ।
भारत २०० औँ टी-ट्वान्टी अन्तर्राष्ट्रीय खेल खेल्ने दोस्रो टोली हुनेछ । यसअघि पाकिस्तान २०० खेल खेल्ने पहिलो टोली बनेको थियो । पाकिस्तानले हालसम्म २२३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।
भारतीय टोलीले २००६ डिसेम्बर १ मा जोहानसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध आफ्नो पहिलो टी-ट्वान्टी खेल खेलेको थियो ।
भारतीय टोलीले हालसम्म खेलेको १ सय ९९ टी–२० अन्तर्राष्ट्रिय खेलमा १२७ खेलमा विजयी हुँदा ६३ खेलमा पराजित भोगेको छ । भारतीय राष्ट्रिय क्रिकेट टोलीले टी-ट्वान्टी विश्वकपको पहिलो संस्करण जितेदेखि फेरि टी-ट्वान्टी विश्वकपको उपाधि जितेको छैन ।
वेस्ट इन्डिज भ्रमणमा रहेको भारतीय टोलीले वेस्ट इन्डिजसँग पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्नेछ । कप्तान रोहित शर्माको अनुपस्थितिमा भारतीय टोलीको नेतृत्व भने हार्दिक पान्ड्याले गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया