क्रिकेट

एसिया कपः नेपालसामु विश्वकै पहिलो र तेस्रो वरीयताको टोलीविरुद्ध खेल्ने अवसर

इकागज |
भदौ १०, २०८० आइतबार १२:६ बजे

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा अगस्ट ३० तारिखदेखि सुरु हुने एसीसी एसिया कपमा नेपालले समूह चरणमै पाकिस्तान र भारतको सामना गर्दैछ ।

अर्थात नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा शीर्ष वरीयताको पाकिस्तान र तेस्रो वरीयतामा रहेको भारतको सामना गर्ने भएको छ ।


नेपालले अगस्ट ३० मा मुल्तानमा आयोजक पाकिस्तानविरुद्ध समूह चरणको पहिलो खेल खेल्दैछ । अफगानिस्तानमाथि जित हात पार्दै पाकिस्तान अहिले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

जबकी नेपाल अहिले वरीयताको १५ औँ स्थानमा रहेको छ । नेपालले एकदिवसीयको शीर्ष वरीयताका टोलीविरुद्ध खेल्ने यो नै पहिलो अवसर पाएको हो । 

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा भारतविरुद्ध श्रीलंकामा खेल्ने तालिका रहेको छ । भारत भने एकदिवसीय वरीयताको तेस्रो स्थानमा छ ।

त्यतिमात्र नभएर नेपाली बलरहरुले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष ११ भित्र पर्ने ब्याटरको पनि सामना गर्ने भएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तानका कप्तान बाबर आजम शीर्ष स्थानमा छन् । त्यसैगरी, पाकिस्तानकै इमाम-उल-हक तेस्रो, भारतका शुवमन गिल चौँथो, पाकिस्तानका फकर जमान पाँचौँ, भारतका विराट कोहली नवौँ तथा भारतीय कप्तान रोहित शर्मा ११ औँ स्थानमा रहेका छन् ।

अर्कोतर्फ नेपाली ब्याटरले पनि शीर्ष १० वरीयतामा पर्ने बलरको सामना गर्नेछन् ।

भारतका मोहम्मद सिराज पाँचौँ, पाकिस्तानका शाहिन शाह अफ्रिदी नवौँ तथा भारतकै कुलदिप यादव १० औँ स्थानमा छन् ।


Author

थप समाचार
x