एसीसी एसिया कप
नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डदेखि बालेनसम्मकाे शुभकामना, कसले के भने ?
काठमाडौँ- एसीसी एसिया कपमा डेब्यू गर्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना व्यक्त गरेका छन् ।
समूह ‘ए’ मा रहेको नेपालले आयोजक पाकिस्तानविरुद्ध मुल्तानमा खेल्दै एसिया कपमा डेब्यू गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
एसिया कपका लागि प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठकमार्फत जीतका लागि शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।
भर्चुअल बैठकमा नेपाली टीमका कप्तान रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे फेसबुक पेजमा नेपाली टिमले तयारी गरिरहेकाे भिडियाे शेयर गर्दै लेखेका छन्- 'र, प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं । विश्वको नम्बर वान क्रिकेट टिम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना !'
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि टिमलाई शुभकामना व्यक्त गरेका छन् ।
उनले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पुर्याउन योगदान गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक र सरोकारवालाहरूप्रति कृतज्ञता र आजको महत्त्वपूर्ण खेलका लागि नेपाली टोलीलाई हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि सपना पूरा भएको उल्लेख गरेका छन् ।
‘टिभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो ।
सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दिपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पुर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना,’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
नेपालले पहिलाेपटक खेल्न लागेकाे एसिया कपप्रति निकै खेलप्रेमीहरूले निकै चासाेका रुपमा हेरिरहेका छन् । नेपाललाई जितका लागि नेता, कलाकार, पत्रकार, खेलाडीदेखि खेलप्रेमीहरूले शुभकामना दिइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया