क्रिकेट

भारत र पाकिस्तानबीचको खेल वर्षाले हुन सकेन भने के हुन्छ ?

इकागज |
भदौ १६, २०८० शनिबार १४:९ बजे

काठमाडौँ- एसीसी एसिया कपअन्तर्गत भारतले आज पहिलो खेलमा आयोजक पाकिस्तानको सामना गर्दैछ ।

समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।


जारी एसिया कपमा भारतले समूह चरणको पहिलो खेल खेल्दा पाकिस्तानले भने दोस्रो तथा अन्तिम खेल खेल्दैछ ।

सन् २०१९ को विश्वकप पछि भारत र पाकिस्तान एकदिवसीयमा पहिलो पटक खेल्न लागेका हुन् ।

तर, केन्डीमा शनिबार वर्षा हुने सम्भावना रहेका कारण भारत र पाकिस्तानबीचको खेल प्रभावित हुने अनुमान गरिएको छ ।

केन्डीमा ९४ प्रतिशत पानी पर्ने पूर्वानुमान गरिएको छ ।

वर्षाले खेल भएन भने के हुन्छ ?

वर्षाका कारण भारत र पाकिस्तानको खेल ढिलो गरी सुरु हुने अनुमान गरिएको छ ।

भारत र पाकिस्तानबीचको खेलमा नतिजा आउन दुवै टिमका लागि कम्तिमा पनि २०-२० ओभर छुट्याइनेछ ।

तर खेल भएन भने दुवै टिमले एक-एक अंक पाउनेछन् र नेपाललाई पराजित गरेका कारण पाकिस्तानले सुपर फोरमा स्थान सुरक्षित गर्नेछ ।

भारतलाई भने सुपर फोरमा स्थान सुरक्षित गर्न सोमबार नेपालविरुद्धको खेलमा जित अथवा अंक बाड्नुपर्ने अवस्था आउछ ।


Author

थप समाचार
x