नेपाल भर्सेस भारतः अपेक्षा कम, उत्साह बढी
काठमाडौँ- पाकिस्तान र श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार उपाधि दावेदार भारतविरुद्ध खेल्दैछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतबीचको खेल श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको पराजय भोगेको नेपालले भारतको सिनियर टोलीविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो अवसर हो । त्यसैले नेपाली टोली यसका लागि उत्साहित छ ।
अर्कोतर्फ दुई पटक एकदिवसीय विश्वकप जितेको भारतले भने पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको थियो । वर्षाका कारण खेल पूरा हुन नसकेपछि पाकिस्तान र भारतले अंक बाँड्न बाध्य भएका थिए ।
त्यसैले भारत भने नेपालमाथि जित हात पारेर सुपर फोरको यात्रा तय गर्न चाहन्छ ।
तर नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण प्रभावित हुने अनुमान गरिएको छ । यस्तो अवस्थामा भारत २ अंकसहित समूहको उपविजेताको रुपमा सुपर फोरमा पुग्नेछ ।
तर नेपाली खेलाडी तथा समर्थकहरु भने नेपाल र भारतबीच पहिलो भेट यादगार बनाउन चाहन्छन् । र उक्त खेलको नतिजा कुरेर नतिजा कुरेर बसिरहेका छन् ।
खासमा नेपालले भारतलाई पराजित गर्ने अपेक्षा कमैले राखेका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि नेपालले भारतलाई हराउने अपेक्षा व्यक्त गरेका छैनन् ।
उनले भारतजस्तो टिमसँग खेलेर नेपाली टिमले धेरै कुरा सिक्न सक्ने विश्वास लिएका छन् ।
जबकी प्रतियोगिता अघि नै नेपाली टिमका कप्तान रोहित पौडेलले पाकिस्तान र भारतसँग खेल्नका लागि उत्साहित रहेको तथा धेरै कुरा सिक्न सक्ने बताएका थिए ।
तर कप्तान पौडेलले भने भारत र पाकिस्तान दुवै टोलीविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने अपेक्षा भने रहेको बताएका थिए । पाकिस्तानसँग ठूलो अन्तरको पराजय भोगेको नेपालले भने भारतविरुद्ध खेल्दा भने उच्च मनोबलका साथ मैदानमा उत्रनुपर्ने हुन्छ ।
र पौडेलको अपेक्षा अनुसार नेपालले पराजित गरेको खण्डमा नेपाल प्रतियोगिताको सुपर फोरमा पुग्ने तथा विश्व वरीयताको तेस्रो नम्बरमा रहेको भारत भने प्रतियोगिताबाट बाहिरिने छ ।
तर त्यसका लागि नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा अनपेक्षित प्रदर्शन गर्नुपर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया