पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुसी लाग्यो : सोमपाल कामी
काठमाडौँ- इन्स्पायर नोबल फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।
एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्नेलाई प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो । भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए ।
कुशल र सोमपाललाई फाउण्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो ।
फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउण्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउण्डेसनलाई दिए ।
कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले राम्रो अनुभव बटुल्न पाएको बताए । पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको बताए । पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुसी लागेको बताए । अर्को पटक खेल्दा राम्रो नतिजा दिने उनकाे भनाइ छ ।
त्यस्तै अर्का क्रिकेटर कुशल भुर्तेलले एसिया कप खेल्नु भन्दा पनि एसिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुसी लागेको बताए । भारतलाई टिभीमा हेरेर आफूहरूले क्रिकेट सिकेको बताउँदै आफू भारतसँग खेल्न आतुर रहेको सुनाए । उनले पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको अनुभव पनि साझा गरे ।
भुर्तेलले एसिया कपको अनुभवले आगामी खेलमा राम्रो गर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया