क्रिकेट

राजस्थान रोयल्स एकेडेमीमा नेपाली क्रिकेट टिमको प्रशिक्षण

इकागज |
असोज १९, २०८० शुक्रबार ९:९ बजे

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्रको छनोटका लागि नेपाली टिमले भारतमा तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार नेपाली टिमले भारतको नागपुरस्थित राजस्थान रोयल्स एकेडेमीमा नेपाली टिमले १० दिन तयारी गर्ने भएको हो ।

राजस्थान रोयल्स एकेडेमी इन्डियन प्रिमियर लिग टिम राजस्थान रोयल्सको एकेडेमी हो ।


विश्वकप तयारीका लागि नेपाली टोली शुक्रबार नागपुर जान लागेको हो । नेपाली टोली चीनमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा सहभागिता जनाएर बिहीबार नेपाल फर्किएको थियो ।

नागपुरको तयारी पछि नेपाली टिमले नेपालमै हुने त्रिकोणात्मक सिरिज र विश्वकप छनोट खेल्ने तालिका रहेको छ ।

विश्वकप छनोट कात्तिक १३ देखि २० गतेसम्म काठमाडौँको मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

विश्वकपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा सिंगापुर, ओमान र मलेसिया पनि रहेका छन् । समूह ‘बी’ मा मा भने यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

नेपालमा हुने छनोटअन्तर्गत फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

तर विश्वकप छनोटअघि नेपालले यूएई र हङकङसँग असोज ३० देखि कात्तिक ९ गते त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x