क्रिकेट विश्वकपः पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै, उद्घाटनमा इंग्ल्यान्ड पराजित
काठमाडौँ- भारतमा बिहीबारबाट सुरु भएको आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शुक्रबार नेदरल्यान्ड्सले पाकिस्तानको सामना गर्दैछ ।
नेदरल्यान्ड्स र पाकिस्तानबीचको खेलको हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।
यसअघि बिहीबार भएको पहिलो खेलमा न्यूजिल्यान्डले साविक विजेता इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्यो ।
इंग्ल्यान्डले दिएको २ सय ८३ रनको लक्ष्य न्यूजिल्यान्डले ३६ ओभर २ बलमा केवल एक विकेट गुमाएर पूरा गर्यो । न्यूजिल्यान्डलाई जित दिलाउन डेभोन कोनवेले १ सय २१ बलमा अविजित रहँदै सर्वाधिक १ सय ५२ रन बनाए । उनले १९ चौका र ३ छक्का हिर्काए ।
यता रचित रविन्द्रले ९६ बलमा अविजित रहँदै ११ चौका र ५ छक्काको मदतमा १ सय २३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनायो । इंग्ल्यान्डका लागि जो रुटले सर्वाधिक ७७ रन तथा कप्तान जोश बट्लरले ४३ रन जोडे ।
न्यूजिल्यान्डका लागि म्याट हेनरीले सर्वाधिक ३ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया