नेपालसामु १० वर्षपछि विश्वकप खेल्ने सुनौलो अवसर
काठमाडौँ- आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि नेपालले सोमबारदेखि एसिया क्षेत्रको छनोट आयोजना गर्दैछ ।
नेपालमा आयोजना हुने छनोटबाट दुई टिमले २०२४ मा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
एसिया क्षेत्रको छनोटमा आयोजक नेपालसँगै मलेसिया, ओमान, सिंगापुर, बहराइन, हङकङ, कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) ले प्रतिस्पर्धा गर्दैछन् ।
छनोटका लागि समूह ‘ए’ मा नेपालसँगै मलेसिया, ओमान र सिंगापुर तथा समूह ‘बी’ बहराइन, हङकङ, कुवेत र यूएई रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
सेमिफाइनल विजेता दुवै टोलीले अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
अहिलेको अवस्थामा घरेलु टोली नेपाल विश्वकपका लागि छनोट हुने एक बलियो टोलीको रूपमा रहेको छ । अझ घरेलु मैदानमा नेपाली टिमले पछिल्ला समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
भर्खरै घरेलु मैदानमा यूएई र हङकङसम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको पाँचमध्ये चार खेलमा नेपालले जित हात पारेको थियो । त्यसअघि चीनमा भएको १९ औँ एसियन गेम्समा पनि नेपालले भारतसँग पराजय भोग्नुअघि मंगोलिया र माल्दिभ्सविरुद्ध उत्कृष्ट ब्याटिङ र बलिङ गरेको थियो ।
एकदिवसीय एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो । पछिल्लो समय नेपालले विश्वका उत्कृष्ट टिमहरूसँग खेल्ने अवसर तथा आफ्नो क्षमता परीक्षण गर्ने अवसर पाएको छ ।
ती अनुभवहरूका आधारमा नेपालले आगामी वर्षको विश्वकपमा स्थान बनाउने सम्भावना बलियो देखिन्छ । यदि नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको खण्डमा नेपाल सन् २०१४ पछि पहिलो पटक टी-ट्वान्टी विश्वकप खेल्नेछ ।
यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकपमा पूर्व क्रिकेटर पारस खड्काको कप्तानीमा सहभागिता जनाएको थियो ।
१० वर्षपछि नेपाल पुनः विश्वकपका लागि छनोट हुने संघारमा पुगेको छ र यसका लागि नेपालले फाइनलसम्मको यात्रा तय गर्नुपर्नेछ ।
विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल सोमबार सिंगापुर, दोस्रो खेल मलेसियाविरुद्ध मंगलबार तथा तेस्रो खेल ओमानविरुद्ध बिहीबार खेल्ने तालिका रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया