क्रिकेट

विश्वकप छनोटः हङकङ र ओमानको सहज जित

इकागज |
कात्तिक १३, २०८० सोमबार १७:१ बजे

काठमाडौँ- नेपालमा आजबाट सुरु भएको आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत हङकङ र ओमानले सहज जित हात पारेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘ए’ को दोस्रो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको हो ।


जितका लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रनमात्र बनायो । मलेसियाका लागि विरणदिप सिंहले सर्वाधिक ५७ रन बनाए ।

ओमानका विलाल खान र जिसन मक्सुदले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले कप्तान जिसन मक्सुदको अविजित ५६ रनको मदतमा ६ विकेट गुमाएर १ सय ५३ रन जोड्यो ।

मलेसियाका लागि विरणदिप सिंहले सर्वाधिक ३ विकेट हात पारे ।

यता समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले कुवेतलाई १६ रनले हरायो ।

१ सय ६७ रनको लक्ष्य पछ्याएको कुवेतले ८ विकेटको क्षतिमा १ सय ५० रनमात्र जोड्यो । कुवेतका लागि कप्तान मोहम्मद अस्लमले सर्वाधिक ५२ रन जोडे । हङकङका लागि आइजाज खानले सर्वाधिक ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाउँदा ओपनर मार्टिन कोएट्जीले ४८ बलमै ८१ रन बनाए । उनले १४ चौका र १ छक्का हिर्काए ।

कुवेतका सयद मोनिबले सर्वाधिक २ विकेट हात पारे ।


Author

थप समाचार
x