विश्वकप छनोटः ओमानविरुद्ध बदला लिँदै उपाधि जित्ने दाउँमा नेपाल
तस्बिरः क्यान
काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटको फाइनलमा भोलि नेपालले ओमानको सामना गर्नेछ । नेपाल र ओमानबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा स्थान बनाइसकेका नेपाल र ओमान यसअघि समूह चरणमा पनि आमने-सामने भएका थिए ।
तर समूह चरणअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा ओमानले भने नेपाललाई ५ रनले पराजित गरेको थियो । ओमानले समूह चरणमा तीनवटै खेलमा जित हात पार्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा नेपालले भने दुई खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको थियो ।
जसका कारण सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गरेको थियो । सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै फाइनलसँगै विश्वकपमा पनि स्थान सुरक्षित गरेको थियो ।
यता अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको थियो ।
नेपालसामु अब समूह चरणमा ओमानविरुद्ध भोगेको ५ रनको बदला लिने अवसर आएको छ । नेपालले फाइनलमा ओमानलाई पराजित गरेको खण्डमा विश्वकप छनोटको उपाधि पनि उचाल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया