महिला क्रिकेट : बागमती र सुदूरपश्चिम विजयी
काठमाडौँ- पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
आइतबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको हो । प्रतियोगितामा बागमतीको तीन खेलमा दोस्रो जित हो । गण्डकीको यो दोस्रो पराजय हो ।
आइतबार गण्डकीले दिएको १ सय १३ रनको लक्ष्य बागमतीले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । बागमतीलाई जित दिलाउन यशोदा विष्टले अविजित ३९ तथा हेलिशा गुरुङले २० रन जोडे । गण्डकीका लागि श्रृष्टी जैसीले सर्वाधिक २ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रन बनायो । गण्डकीका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३२ रन जोडिन् ।
यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ८१ रनले पराजित गर्यो । सुदूरपश्चिमको यो दोस्रो जित हो भने कर्णालीको यो लगातार तेस्रो पराजय हो ।
आइतबारको खेलमा १ सय ५२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ७० रनमात्र जोड्न सक्यो ।
कर्णालीका लागि तृष्णा विश्वकर्माले सर्वाधिक २८ रन जोडिन् । सुदूरपश्चिमका लागि जानकी थापा र रितु कनौजियाले समान ३-३ तथा कविता जोशीले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १ सय ५१ रन जोड्यो । उसका लागि कविता जोशीले ५० बलमा अविजित रहँदै १० चौका र १ छक्काको मदतमा ७८ रन बनाइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया