क्रिकेट

ईपीएलः डकवर्थ लुइसका आधारमा पोखरा विजयी

इकागज |
असोज १८, २०७८ सोमबार १८:५९ बजे

काठमाडौँ-  एभेरेष्ट प्रिमियर लिग (ईपीएल)मा सोमबार पोखरा राइनोजले काठमाडौँ किंग्सलाई १४ रनले पराजित गरेको छ । वर्षाले प्रभावित भएपछि खेलमा डकवर्थ लुइस पद्वतिका आधारमा नतिजा निकालिएको हो । १८३ रनको लक्ष्य पछ्याइरहेको पोखराले १५ ओभरमा पाँच विकेट गुमाएर १४२ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको थियो । 

खेल जित्नका लागि ३० बलमा ४१ रनको आवश्यकता रहेका बेला पोखरा डकवर्थ लुइसका आधारमा १४ रनले अगाडि रह्यो र विजेता बन्यो । प्रतियोगितामा तेस्रो जित हासिल गरेपछि पोखराको सात अंक भएको छ । लिग चरणका सबै खेल खेलिसकेको पोखरा अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । 


चार खेल खेलेको भैरहवा ग्लाडियटर्स ६ अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौँ भने चार खेलबाट दुई अंक बटुल्दै पाँचौँ स्थानमा छ । यी दुई टिम मंगलबार आमनेसामने हुने तालिका छ । काठमाडौँलाई हराउँदै भैरहवा क्वालिफायर पुग्न चाहन्छ । लिग चरणमा शीर्ष दुईमा रहने टिम पहिलो क्वालिफायर प्रवेश गर्ने प्रावधान छ । चितवन टाइगर्स यसअघि नै क्वालिफायर प्रवेश गरिसकेको छ । 

लिगमा चरणमा तेस्रो र चौथो हुने टिमले भने इलिमिनेटर खेल्नेछन् । यसमा विजयी हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । जहाँ उसको भेट पहिलो क्वालिफायर हार्ने टिमसँग हुनेछ । यस खेलमा विजेता बन्ने टिमले पहिलो क्वालिफायर जित्ने टिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  

सोमबारको खेलमा काठमाडौँले टस हारेर ब्याटिङ गर्दै २० ओभरमा आठ विकेटको क्षतिमा १८२ रनको योगफल तयार पारेको थियो । काठमाडौँका लागि अमित श्रेष्ठ र रायन बर्लले अर्धशतक प्रहार गरे । अमितलृ ४१ बल सामना गर्दा दुई छक्का र ६ चौकाको सहयोगमा ५६ रन बनाएका थिए । 

रायनले भने ४३ बलमा ५० रन जोडे । उनले तीन छक्का र दुई चौका प्रहार गरेका थिए । त्यसैगरी कप्तान सन्दिप लामिछानेको नाममा ३१ रन रह्यो । पोखराका लागि विवेक यादवले उत्कृष्ट बलिङ गरे । उनले सात रन खर्चेर तीन विकेट लिए । विजयी टिमका लागि विक्रम सोब, नन्दन यादव, किशोर महतो र सहान अराछिगेले एक–एक विकेट लिए । 

प्लेयर अफ दी म्याच बनेका विवेकले पोखराका लागि अविजित ४१ रन बनाए । २८ बल सामना गर्दा विवेकले दुई छक्का र चार चौका प्रहार गरे । उनले ब्याटिङ गर्दा गर्दै खेल रोकिएको थियो । उनीसँगै क्रिजमा रहेका लोकेश बमले १८ रन जोडे । पोखराका लागि सर्वाधिक स्कोर भने सहानको नाममा रह्यो । सन्दिपको बलमा आउट हुनुअघि सहानले २३ बलमा ४३ रन बनाए । काठमाडौँका लागि जितेन्द्र मुखिया र गुल्शन झाले दुई-दुई विकेट लिए । कप्तान सन्दिपको नाममा एक विकेट रह्यो । 
 
 


Author

थप समाचार
x