क्रिकेट

ईपीएल फाइनलः दबाब व्यवस्थापन गर्नुपर्ने दबाबमा कप्तानद्वय

इकागज |
असोज २२, २०७८ शुक्रबार १८:२८ बजे

काठमाडौँ- यसपालिको एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि भिडन्तमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोज आमनेसमाने हुँदैछन् । यी दुवै टिमले पहिलो पटक ईपीएलको फाइनलमा स्थान बनाएका हुन् । अनि संयोग नै मान्‍नुपर्छ, पहिलो क्‍वालिफायरमा पनि यी दुई टिमको भेट भएको थियो । जहाँ चितवन बलियो सावित भयो । लिग चरणको भिडन्तमा पनि चितवन नै विजयी भएको थियो ।  

यसअघिका दुई खेलका नतिजाका आधारमा चितवनका कप्तान सोमपाल कामी फुर्किएका छैनन् । पोखराको कमजोर पक्ष आफूहरूलाई थाहा भए पनि उसलाई कमजोर नसोचेको सोमपालको भनाइ छ । ‘हामी दबाबमा भने छैनौँ । हामीले फाइनललाई प्रतियोगिताको अन्य खेलझैँ फगत एउटा खेलको रुपमा लिएका छौँ ।


यसअघि दुई पटक हराएकाले पनि हामीलाई विपक्षी टिमको कमजोरी थाहा छ । तर यसो भन्दैमा अति उत्साहित भने छैनौँ,’ प्रि–म्याच कन्फ्रेन्समा सोमपालले भने । 
शाहिद अफ्रिदी जस्ता विदेशी खेलाडीको आगमनले यसपटकको ईपीएल विगतको भन्दा फरक बनेको सोमपालको अनुभव छ । ‘यस्ता खेलाडीबाट हामीले सिक्न पाउँछौँ । उनीहरुको उपस्थितीमा ईपीएल पहिलाको भन्दा फरक पनि छ,’ सोमपालको भनाइ थियो ।  

उता पोखराका कप्तान विनोद भण्डारीे पनि सोमपालको भनाइसँग सहमत भए । ‘विदेशी खेलाडी जुनसुकै टिममा भए पनि आईपीएल खेलिरहेका नेपाली खेलाडीहरुले सिक्ने मौका पाउँछन् । विस्तारै नेपाली खेलाडीहरुको स्तर पनि बढिरहेको छ । यसपालिको ईपीएलमा यही अनुभव भयो,’ विनोदले भने । 

लिग चरण र क्वालिफायरमा चितवनको पक्षमा नतिजा गएपनि पोखरा पनि फाइनलमा पुगेको र यसले दुवै टिम उत्तिकै बलियो रहेको देखाएको विनोदको भनाइ थियो । उनले उपाधि भिडन्तमा उत्रिँदा आफूहरूले दबाब महशुस गर्ने पनि बताए । ‘दबाब त हुन्छ तर यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ । पहिलो पटक फाइनल पुगेको हो भन्ने सोचेर खेल्नु हुँदैन । अन्य खेललाई जस्तै फाइनललाई पनि सामान्य तरिकाले लिनुपर्छ,’ विनोदले भने । 


Author

थप समाचार
x