क्रिकेट

‘प्लान बी नभएको भारतीय टिमलाई नकआउट चरणमा जसले पनि हराउन सक्छ’

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १६:३६ बजे

काठमाडौँ- यसपालीको टी–ट्वान्टी विश्वकप संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा जारी छ । यो विश्वकप जित्ने दाबेदार टिमका रुपमा भारतलाई हेरिएको छ । भारतसँगै इंग्ल्यान्डलगायतका अन्य बलिया टिम पनि विश्वकप जित्न सक्ने टिम हुन् । यो आम क्रिकेट समर्थकको अनुमान हो । 

इंग्ल्यान्डका पूर्वकप्तान नासेर हुसेन पनि भारतीय टिम बलियो रहेका मान्छन् । भारतले विश्वकप जित्ने सम्भावना रहेको उनको ठम्मयाइ छ । तर, भारत सबैभन्दा बलियो दाबेदार भने नरहेको उनको बुझाइ छ । आईसीसीले आयोजना गर्ने नकआउट प्रतियोगिताहरूमा भारतको पछिल्लो रेकर्ड खासै उत्साहजनक नरहेकाले पनि हुसेनले यस्तो अनुमान गरेका हुन् । 


‘हो, भारत विश्वकप उपाधिको दाबेदार हो । तर, सबैभन्दा बलियो दाबेदार चाहिँ होइन । किनभने टी–ट्वान्टीको ढाँचा नै अनिश्चित नतिजा दिने प्रकारको छ । नकआउट खेलमा भारतलाई कुनै पनि टिमले निराश बनाउन सक्ने सम्भावना रहन्छ । फेरि आईसीसीका प्रतियोगितामा भारतले पछिल्लो समय आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेको छैन,’ हुसेनले स्काई क्रिकेटसँग भनेका छन्, ‘भारतीय टिम सधैँ दबाबमा हुने गर्छ । दबाब दिने भारतीय समर्थक हुने गर्छन् । यसकारण पनि भारतीय टिमका लागि नकआउट खेल सजिलो हुँदैन ।’ 

भारतले पछिल्लो समय जितेको आईसीसी प्रतियोगिता भनेको च्याम्पियन्स ट्रफी हो । सन् २०१३ मा च्याम्पियन्स ट्रफी विजेता बन्दा भारतीय टिमका कप्तान थिए, मेहन्द्र सिंह धोनी । चार वर्षपछि फेरि च्याम्पियन्स ट्रफीको फाइनलमा पुगे पनि भारत च्याम्पियन हुन सकेन । २०१५ विश्वकप, २०१६ टी–ट्वान्टी विश्वकप र २०१९ विश्वकपमा भारत सेमिफाइनलबाटै घर फर्किएको थियो । यस वर्ष भारतका लागि आईसीसीले आयोजना गरेको अर्को प्रतियोगिता जित्ने मौका थियो । तर विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिम विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डसँग निराश बन्यो । 

हुसेन के पनि दाबी गर्छन् भने, भारतीय टिमसँग नक–आउट खेलका लागि ‘प्लान बी’ हुँदैन । भारतले विश्वकप २०१९ मा इंग्ल्यान्डसँगको सेमिफाइनल पनि ‘प्लान बी’ नभएकाले हारेको हुसेनको भनाइ छ । ‘जब भारत नक–आउट चरणमा पुग्छ, तब उसको खेलमा परिपक्वतामा कमी आउँछ । पहिल्यैबाट दबाबमा खेल्ने भारतीय टिममा विश्वस्तरीय खेलाडीको लामो सूची हुने भएपनि प्लान बी नभएपछि नतिजा नकारात्मक आउने सम्भवाना रहन्छ,’ हुसेनले भने । 


Author

थप समाचार
x